समाचार

चार जिल्लाका ६ स्थानीय तह सम्मानित

काठमाडौँ । महिला हक, अधिकार तथा संरक्षण गर्दै महिला हिंसा न्यूनीकरण गर्न महत्वपूर्ण योगदान दिएका चार जिल्लाका ६ स्थानीय तहलाई सम्मान गरिएको छ । राष्ट्रिय महिला आयोगको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ र नागार्जुन नगरपालिका, नुवाकोटको तारकेश्वर गाउँपालिका तथा ललितपुरको कोन्ज्योसोम गाउँपालिका सम्मानित भएका छन् ।

विसं २०५८ फागुन २३ गते स्थापना भएको आयोगलाई नेपालको संविधान २०७२ ले संवैधानिक आयोगमा रुपान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ती नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेका थिए । कार्यक्रममा पुनः स्थापना तथा विकास मञ्च (मोरङ), नेपाल स्पाइरल इञ्जुरी खेलकूद सङ्घ (काठमाडौँ) र बौद्धिक अपाङ्गता अभिभावक सङ्घ (चितवन) लाई रु १५ हजारसहित सम्मान गरिएको थियो ।

मन्त्री थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यलाई सफल बनाउन आयोगले आगामी दिनमा महिला हक, हित र अधिकारको संरक्षणमा लाग्न आग्रह गरे । उनले संवैधानिक आयोगका रुपमा रहेको महिला आयोगलाई आवश्यक पर्ने सहयोग मन्त्रालयले गर्दै आएको र अगामी दिनमा सामाजिक रुपान्तरणको खाँचो रहेको बताए ।

आयोगका सचिव अनिलकुमार ठाकुर र सहसचिव युवराज सुवेदीले आयोगका गतिविधिबारे जानकारी गराएका थिए । आयोगले विशेष रुपमा महिला हिंसा र घरेलु हिंसा न्यूनीकरण गर्न आफ्ना नीति तथा कार्यक्रमलाई केन्द्रित गरेको छ ।