समाचार

सिएमसीसँगको ठेक्का सम्झौता रद्द

काठमाडौँ । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ । कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालीको उक्त कम्पनीलाई जिम्मा दिएको थियो । गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो ।

मेलम्ची खानेपानी आयोजनामा काम छोडेको इटालीको कम्पनीले सो आयोजनामा महत्वपूर्ण जिम्मा पाएको थियो । कूल १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनामा काम गर्न नस्क्ने देखिएपछि गत फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिइएको थियो । ठेकेदार कम्पनीले तनहुँ आयोजनालाई आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी सिएमएसीलाई गराएको सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए ।

खरीद सम्झौता रद्द गर्नुपर्ने कारणमा खरीद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न गरेको आग्रहलाई अस्वीकार गरेको देखाएको छ । यस्तै ठेकेदार कम्पनीले अग्रीम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायत जानकारी आएको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच गत असोज १५ गते रु २० अर्ब ६४ करोड ५२ लाख खरीद सम्झौता भएको थियो । तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानतवापत राखेको ८७ लाख ४९ हजार युरो र रु ८५ करोड १४ लाख समेत जफतको लागि दाबी गरेको छ । सिएमसीका तर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यही हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ । सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी गरिएको छ ।

नयाँ ठेक्का आह्वान गर्न बोलपत्र कागजात तयारी अन्तिम चरणमा पुगेको छ । कम्पनीले आगामी चैतको दोस्रो हप्ताभित्रमा नयाँ बोलपत्र आह्वान गर्ने लक्ष्य राखेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका काम गर्र्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम थालिसकेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भइसकेको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।