कर्णाली प्रदेश

खानेपानी तथा सरसफाइ आयोजना निर्माण

वीरेन्द्रनगर । रु ७१ करोडभन्दा बढीको लागतमा सुर्खेतको गुर्भाकोट नगरपालिकामा शुभाघाट खानेपानी तथा सरसफाइ आयोजना निर्माण हुने भएको छ ।

रु ७१ करोड १३ लाख १८ हजार ६०० लागतमा दुई वर्षभित्र निर्माण गर्ने गरी बुधबार गुर्भाकोट नगरपालिकाको शुभाघाटमा एक कार्यक्रमबीच उक्त आयोाजनाको वित्तीय सम्झैतामा हस्ताक्षर गरिएको हो । जसमध्ये नेपाल सरकारको अनुदानबाट रु ४९ करोड, सात लाख ९२ हजार, नगर विकास कोषबाट रु १७ करोड ७८ लाख २९ हजार रहेको छ ।

त्यसैगरी आयोजना क्षेत्रबाट लाभान्वित हुने उपभोक्ताहरुबाट रु तीन करोड ५५ लाख ६५ हजार सङ्कलन भएको छ । शुभाघाट खानेपानी उपभोक्ता समितिका तर्फबाट मैना विक, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, खानेपानी तथा ढल निकास विभागका उपनिर्देशक नारायणप्रसाद आचार्य र नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्तले वित्तीय सम्झैतामा हस्ताक्षर गरेका छन् ।

खानेपानी आयोजना अन्तर्गत शुरुवातमा तीन हजार २५१ वटा निजी धारा जडान गरिने जनाइएको छ । आयोजनाका लागि एक हजार ९० घनमिटर क्षमताका सात वटा पानीपोखरी निर्माण गरिने जनाइएको छ । दुई वटा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । खानेपानी आयोजनाबाट तीन हजार घरधुरीका स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । गुर्भाकोटवासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्नका लागि आयोजना सञ्चालन गरिएको नगरप्रमुख हस्त पुनले बताए ।