पर्यटन/संस्कृति

बौद्धकालीन ऐतिहासिकस्थलहरुको संरक्षणमा स्थानीय सक्रिय

नवलपरासी । गौतमबुद्धसम्बन्धी पश्चिम नवलपरासीमा रहेका विभिन्न बौद्धकालीन ऐतिहासिकस्थलहरुको संरक्षण र प्रवद्र्धनमा यहाँका स्थानीय तहहरु सक्रिय रहेका छन् ।

आ–आफ्नो स्थानीय तहको क्षेत्रभित्र पर्ने बुद्धकालीन स्थललगायत विभिन्न ऐतिहासिकस्थलको संरक्षण र प्रवद्र्धनमा यहाँका स्थानीय तह लागि परेका हुन् । पश्चिम नवलपरासीमा सबैभन्दा महत्वपूर्ण स्थल रामग्राम स्तुप रहेको पाइन्छ ।

रामग्राम नगरपालिकाभित्र गौतमबुद्धको अष्तुधातु रहेको रामग्राम स्तुप, र गौतमबुद्धको मावलीस्थल पण्डितपुर रहेका छन् । रामग्राम नगरपालिका— ७ उजैनीमा रहेको बुद्धको अस्तुधातु विश्वमै सिङ्गो अस्तुधातु रहेको एक मात्र स्थल रामग्राम स्तुप मानिन्छ ।

यस ठाउँमा बुद्धकालीन इँट्टा, माटाका भाँडाकुँडालगायत विभिन्न भग्नावशेषहरु भेटिएका छन् ।

यसैगरी रामग्राम नगरपालिका—१८ बञ्जरियास्थित पण्डितपुर गाउँमा गौतम वुद्धको मावलीस्थल रहेको मानिन्छ । यस ठाउँमा बुद्धकालीन इँट्टा, माटाका भाँडाकुँडालगायत विभिन्न भग्नावशेष भेटिएका छन् । रामग्राम स्तुप र पण्डितपुरमा गुरुयोजना निर्माणसहित संरक्षण र प्रवद्र्धनमा विविध गतिविधि गर्दै आइरहेको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता बताउनुहुन्छ ।

यसैगरी सुनवल नगरपालिकामा—७ तरगौली रहेको बौद्धकालीन ताल रहेको छ । गौतमबुद्ध मावलीस्थल पण्डितपुर मावलीमा आउँदा उक्त तालमा स्नान गर्ने गरेको मान्यता छ । तालसँगै एउटा पुरानो बौद्धकालीन मन्दिरसमेत रहेको छ । यस क्षेत्रको समेत गुरुयोजना तयार गरी संरक्षण र प्रवद्र्धन गर्ने तयारी भइरहेको सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापाले बताए ।

यसैगरी सरावल गाउँपालिका–२ जावामा विश्वकै लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोलवृक्ष (रूख) रहेको छ । विश्वकै लोपोन्मुख यो प्रजातिको रूख यसै क्षेत्रमा सुरक्षित छ । यो वृक्ष बुद्धकालीन युगमा जडीबुटीका रूपमा प्रयोगमा ल्याइएको भन्ने कुरा बौद्धचर्या भन्ने पुस्तकमा उल्लेख रहेको छ ।

कोलवृक्ष भएकै कारणले पनि ऐतिहासिक जावा कोटही मन्दिर गौतमबुद्धसँग सम्बन्धित रहेको क्षेत्रमा पनि अब गुरुयोजना तयार परी संरक्षण र प्रवद्र्धनको काम गरिने सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

पश्चिम नवलपरासीमा गौतमबुद्धको अष्तुधाुत रहेको रामग्राम स्तुप, गौतमबुद्धको मावलीस्थल पण्डितपुर र बौद्धकालीन ताल र बौद्धकालीन कोलवृक्ष क्षेत्र लगायतका संरक्षण र प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटनलाई भित्र्याउन राम्रो गन्तव्यस्थलका रूपमा बिकास गर्न सकिने देखिन्छ ।