समाचार

सभापति देउवाद्वारा पुरीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता झापा निवासी जीतबहादुर पुरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज विज्ञप्तिमार्फत केन्द्रीय समितिका तर्फबाट नेता पुरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

विसं २०१४ मा काङ्ग्रेसले गरेको भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा तथा विसं २०४६ को परिवर्तनपछि राष्ट्रियसभाको सदस्यसमेत बन्नुभएका पुरीले पञ्चायत विरोधी लामो सङ्घर्षमा कारागार र प्रवास बसेर देश र पार्टीका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो । “उहाँको निधनबाट नेपाली काङ्ग्रेस झापाको अग्रज नेतृत्वको बिदाइ भएको छ नै, मैलेसमेत एक असल अग्रज र मित्रसमेत गुमाएको छु”, विज्ञप्तिमा उल्लेख छ ।