प्रदेश 1

कृषि व्यवसायमा युवाको उत्साह

भोजपुर । कृषि व्यवसायमा युवाको उत्साह बढ्न थालेको छ । सरकारले कृषक लक्षित विभिन्नखाले कार्यक्रम सञ्चालनमा ल्याएकाले यसतर्फ युवाको आकर्षण बढ्न थालेको हो ।

विदेशबाट फर्केर यस पेशामा लागेका युवालाईसमेत प्रोत्साहन दिन विभिन्न खालका अनुदान, प्राविधिक सहयोग उपलब्ध गराइएकाले उनीहरूको आर्कषण बढेको हो । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने आम्तेकमा विदेशबाट फर्केका सहित एकसहित तीन युवा मिलेर करीब रु दुई करोडको लागतमा कृषि फार्म सञ्चालनमा ल्याएका छन् ।

उनीहरु ‘नमूना बहुउद्देश्य कृषि फार्म’ दर्ता गरेर कृषि तथा पशुपालन व्यवसायमा लागेका हुन् । रु एक करोड ९३ लाखको लागतमा ९० रोपनी जमीनमा अलैँची, एभोकार्ड, कागती, बङ्गुर, माछा, कुखुरापालन तथा कृषि सङ्कलन केन्द्रसमेत स्थापना गरिएको सञ्चालक देवेन्द्रबहादुर खड्काको भनाइ थियो ।

उनले भने, “देशमा सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्नखाले कार्यक्रम सञ्चालन गरेको छ, यसमा साथ दिन कृषि पेशालाई अझ विस्तार गर्ने सोचका साथ काम गरिरहेका छौँ ।”
खड्काले भने “चार वर्षसम्म विदेशमा बसेर कडा परिश्रम गर्दा पनि प्रगति गर्न सकिएन, अब कृषिबाट राम्रो आम्दानी गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ, यसबाट हामीले वार्षिक रु ३५ लाख आम्दानी गर्ने लक्ष्य लिएका छौँ ।”

गत वर्षदेखि सो व्यवसाय थालेका उनीहरुले विदेशमा सिकेको सीप तथा कृषि ज्ञान केन्द्रबाट प्राप्त प्राविधिक सल्लाहअनुसार काम गरिरहेका छन् । दुई पोखरी तयार गरेर माछापालन गरेका ती युवाले पशुपालन व्यवसाय विस्तार गर्नाका साथै कृषि सङ्कलन केन्द्रसमेत स्थापना गर्ने सोचाइमा छन् । यसका लागि गाउँका अन्य कृषकले उत्पादन गरेका दूध सङ्कलन गरी विभिन्न परिकार बनाएर अन्य जिल्ला पठाउने समेत तयारी गरिएको जानकारी दिँदै कृषक खड्कले भने, “यहाँ धेरै कृषकले पशुपालन गरिरहएका छन् तर दूध तथा दूधजन्य वस्तु बिक्री वितरणमा समस्या हुँदा उहाँहरुले आफैँले खाएर सक्नुपर्ने अवस्था छ, यसलाई अन्त्य गर्ने हाम्रो सोच छ ।”

खड्कासँगै रमेश सुवेदी र अङ्कित कार्की पनि सोही काममा सक्रिय छन् । यस फार्मबाट पाँच जनाले रोजगारीसमेत पाएका छन् । अर्का सञ्चालक कार्कीले भने, “सरकाले युवा लक्षित विभिन्न कार्यक्रम ल्याएकाले जिल्लाका हामीजस्ता धेरै युवा स्वदेशमै केही गर्नुपर्छ भनेर लागेका छन्, हामीले यसै व्यवसायबाट राम्रै आम्दानी गरिरहेका छौँ ।” कृषिसम्बन्धी आवश्यक ज्ञानका लागि विभिन्न कृषि कार्यक्रमसँगै आफूहरूले सिकेको सीपलाई सदुपयोग गरेर काम गरिरहेको उनीहरुको भनाइ थियो ।

अहिले शुरुआतको अवस्था छ, यसलाई अझै व्यवस्थित गरेर लैजाने र व्यावसायिक रुपमा कृषि पेशामा लाग्ने हो भने देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने उनीहरु उनीहरूको भनाइ थियो । दैनिक लाखौँ मूल्यको तरकारी विदेशबाट भित्रिरहेको अवस्थामा यस पेशामा लागेर राम्रो आम्दानी गर्नसके देशलाई आर्थिकरुपमा समृद्ध बनाउन सकिने कृषक रमेश सुवेदी बताए ।

उनले भने, “हाम्रो देश कृषि प्रदान देश भएपछि अहिलेसम्म पनि तरकारीमा आत्मनिर्भर हुन सकेका हामी सबै मिलेर कृषिलाई अगाल्न सक्यौँ भने देश तरकारीमा आत्मनिर्भर बन्न सक्छ ।”
“जिल्लामा अहिले पनि लाखौँ मूल्यको तरकारी अन्य जिल्लाबाट आउने गरेको तर मौसमका बेला भने यहाँको तरकारीले मूल्य पाउँदैन यसका लागि बेमौसमी तरकारी उत्पादन र बजारको अवस्थामा पनि ध्यान दिनपर्ने भएको छ ,” कृषक सुवेदीले भने ।