स्वास्थ्य

३० जना कुष्ठरोग प्रभावितको रोग निदान

काठमाडौँ । गत वर्ष लेलेस्थित आनन्दवन अस्पतालले ३० जना कुष्ठरोग प्रभावितको रोग निदान गरेको छ ।

अस्पतालमा आएका बिरामीको रोग निदान भएको लेलेस्थित आनन्दवन अस्पतालमा कार्यरत तालीम अधिकृत गोपाल पोखरेलले बताए । उनका अनुसार नेपालमा यो संस्थालाई मात्रै नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठन दुवैले रोग निदान गर्न मान्यता दिएका छन् । उनले भने, “बिरामी अस्पतालमा आएपछि कुनकुन अङ्गमा कति असर पुगेको छ भन्ने परीक्षण गरेर रोग निदान गरिन्छ ।”

कुष्ठरोग निदान हुने बिरामीको सङ्ख्या पनि बढिरहेको पोखरेलले बताए । सन् २०१८ मा ३० जनाको निदान भएकामा सन् २०१७ मा २३ जनाको रोग निदान भएको अस्पतालले जनाएको छ । सन् २०१६ मा २८ जना, सन् २०१५ मा २३ जना र सन् २०१४ मा १८ जनाको रोग निदान भएको तथ्याङ्क छ । अस्पतालले रोग प्रमाणित भएका बिरामीलाई औषधि र शल्यक्रिया दुवैमार्फत उपचार गर्दै आएको छ ।

रोग लागेका व्यक्तिलाई रोगको लक्षण देखिनासाथ स्वास्थ्य संस्था पुर्याएर उपचार गर्नुपर्नेमा अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा महेश साहको जोड छ । उनका अनुसार रोगको लक्षण देखिएपछि जति चाँडो उपचार गरिन्छ त्यो व्यक्तिको अङ्गभङ्ग हुने र रोग अर्को व्यक्तिलाई सर्ने दुवै सम्भावना कम हुन्छ । उनले भने, “धेरै मानिस स्वास्थ्य संस्थासम्म पुग्न ढिलाइ गर्दा व्यक्तिको शरीरका अङ्ग बिग्रिएर अपाङ्ग हुन्छन् ।” देशभरमा गत वर्ष तीन हजार १८७ नयाँ बिरामी फेला परेको स्वास्थ्य सेवा विभागको तथ्याङ्क छ ।