गण्डकी प्रदेश

राष्ट्रपतिद्वारा लिफ्ट उद्घाटन

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गरेकी छन् ।

मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा रु एक करोडको लागतमा सो लिफ्ट निर्माण गरिएको हो ।

एकपटकमा १२ जनासम्म चढ्ने ६० फिट अग्लो लिफ्टको भारवाहन क्षमता ६८० किलोग्राम रहेको छ ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरस्थित विन्ध्यवासिनी माता, गणेश र आराध्यदेव महादेवको दर्शन गरी पूजाआर्चना पनि गरेकी छन् ।