समाचार

भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

दमौली । तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् ।

सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिए । उनका अनुसार विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थी भाइरल ज्वरोबाट पीडित भएका हुन् । सबैभन्दा बढी कक्षा १० मा अध्ययनरत १५ विद्यार्थी भाइरल ज्वरोबाट बिरामी परेका छन् ।

त्यस्तै कक्षा ९ मा अध्ययन गर्ने सात र ६, ७ र ८ का समेत विद्यार्थी ज्वरोबाट पीडित भएको उनले जानकारी दिए । उनले भने, “सबै कक्षाका गरी ५० भन्दा बढी विद्यार्थीलाई यो समस्या देखिएको छ ।”

उनका अनुसार बुधबार पनि कक्षा ४ र ५ का दुई÷तीन विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कक्षा १० का बिरामी हुने सबै विद्यार्थी विद्यालयकै होस्टेलमा बस्ने विद्यार्थी हुन् । होस्टेलमा बस्ने विद्यार्थीमा एउटालाई ज्वरो आएपछि अर्को विद्यार्थीलाई पनि सोही समस्या देखिएको थापाले जानकारी दिए । उनले भने, “एउटा विद्यार्थीबाट अरु विद्यार्थीमा ज्वरो फैलिएको हुन सक्छ ।”

उनका अनुसार बिरामी भएका सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराइएको छ । सोही वडामा रहेको घिरिङ स्वास्थ्यचौकी र स्थानीय मेडिकलमा बिरामीको उपचार गराइएको छ । बिरामी भएका सबै विद्यार्थीलाई परिवारको रेखदेखमा जिम्मा लगाई उपचार भइरहेको विद्यालयले जनाएको छ ।

घिरिङ स्वास्थ्यचौकीका स्टाफ नर्स प्रतिमा अधिकारीले विद्यार्थीमा देखिएको समस्या भाइरल ज्वरो र इन्फ्लुएन्जा भएको जानकारी दिए। उनले भने, “यस्तो समस्या देखिएका विद्यार्थीलाई स्वास्थ्यचौकीबाटै उपचार सेवा दिएका छौँ ।”

उनका अनुसार मङ्गलबार ४० विद्यार्थीलाई स्वास्थ्यचौकीबाट उपचार गरिएको थियो । हालसम्म स्वास्थ्यचौकीमा भएका औषधीले नै विद्यार्थीको उपचार भइरहेको जानकारी दिँदै उनले औषधी अपुग भए गाउँपालिकाको स्वास्थ्य शाखासँग माग गर्ने तयारी भएको बताए । विद्यार्थीमा यस्तो समस्या भइरहे विद्यालयमै पुगेर उपचार सेवा प्रदान गरिने अधिकारीले बताए।