बाग्मती

बाढीपीडितका लागि घर निर्माण

काठमाडौँ । जापानमा प्रवासी जीवन बिताइरनुभएका समाजसेवी कृष्ण कार्कीले झापा र मोरङको सिमानामा पर्ने रतुवामाई खोलाका बाढीपीडितका लागि छ घर निर्माण गरिदिएका छन् ।

विराटनगरका स्थानीय समाजसेवी कार्कीले आफ्नो एकल लागतमा रु २० लाखमा निर्माण भइरहेका छ घरमध्ये दुई घरको निर्माणकार्य सम्पन्न भइसकेको छ । बाँकी चार घरको निर्माण कार्य पनि चाँडै सम्पन्न गरी जतिसक्दो चाँडो हस्तान्तरण गरिने कार्कीले जानकारी दिए ।

घर निर्माण योजनाका संयोजक ई चुडामणि कार्कीले शुरुमा वास्तविक पीडितको पहिचान गर्दा समय लागे पनि पछिल्लो समयमा तीव्ररूपमा काम भइरहेको बताए। पीडितमध्ये असक्त तथा ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको छ । यो वर्षको वर्षा शुरु हुनुपूर्व नै उक्त योजना सम्पन्न गरी घर हस्तान्तर गरिनेछ ।

अहिले बाढीले बस्ती बगाएसँगै गाउँभरिमा एक मात्र खानेपानीको धारा रहेकाले शुद्ध पिउने पानीको अभाव, शौचालयलगायतका समस्या देखिएको हुँदा त्यसको समाधान पनि गरिने उनको भनाइ छ । स्थानीय राम गुरुङले बस्ती निर्माणपूर्व त्यहाँको अवस्था अत्यन्त दयनीय रहेकोे र अहिले गाउँको पुनःनिर्माणले पीडितको गाउँमा खुशी छाएको छ बताए।

विराटनगरका स्थानीय कृष्ण कार्की हाल जापानमा बसेर नेपालमा विभिन्न समाजसेवामा सक्रिय रहँदै आउनुभएको छ । केही समय अगाडि मात्र आमाको मृत्यु भइसकेपछि बाबुद्वारा सडकमा फालेर हिँडेका दुई जुम्ल्याहा छोरीको शिक्षामा कक्षा १ देखि १२ सम्मको सम्पूर्ण पढाइवापतको खर्च विद्यालयको बैंक खातामा जम्मा गरिदिएका थिए ।

गत असारमा मोरङको रतुवामाई खोलामा आएको भीषण बाढीबाट पूर्णरूपमा विस्थापित भएका मोरङ रतुमाई नगरपालिका–३ बर्तीटोलका २१ घरपरिवारमध्ये सुकुम्वासी बन्न पुगेका तथा आर्थिक साथै शारीरिक रूपमा अशक्त घरपरिवारलाई समाजसेवी कार्कीको एकल आर्थिक सहयोगमा पुनःबास गराउने अभियान शुरु भएको हो । गत मङ्सिर २१ गते नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल र रतुवामाई नगरपालिकाका मेयर रवीन राईको उपस्थितिमा घरको शिलान्यास गरिएको थियोे ।