बाग्मती

ललितपुरमा मनाइयो अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस

ललितपुर । ललितपुरका कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकाले गत शनिबार आ–आफ्नो गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस, २०१९ मनाएका छन् ।

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकास्तरीय सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियो भने डाटापोर्टलमा भएका पाँच औजार र सूचना केन्द्र औपचारिकरूपमा सुशासन परियोजनाको तर्फबाट पालिकालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई डाटापोर्टलमा समावेश भएको औजार प्रयोग गर्ने तरिका सिकाइएको थियो भने यसका फाइदा र महत्वका बारेमा अभिमुखीकरण प्रदान गरिएको थियो । लिभरपुल इन्टरनेशनल कलेज, काठमाडौँका विद्यार्थीको तर्फबाट स्थानीय सरकारले अभ्यासमा ल्याएका खुला तथ्याङ्क प्रयोग तथा प्रभावकारी सूचना तथा सेवा प्रवद्र्धनसम्बन्धी जागरण नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष सिंतानले गाउँपालिकाका नागरिकले पाउनुपर्ने सबै सूचना खुला गरिएको र सबै सूचना र सेवा खुला गर्नु धेरै महत्वपूर्ण भएको बताएका छन् ।

यसैगरी वागमती गाउँपालिकामा भएको कार्यक्रममा सूचना केन्द्रको उद्घाटन र डाटापोर्टलका औजार र सूचना केन्द्रको हस्तान्तरण, डाटापोर्टल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले नागरिकलाई सुसूचित गर्ने कार्यमा पालिका सदैव तत्पर रहने धारणा राख्दै महिला तथा सिमान्तकृत समुदायमा सूचनाको पहुँच विस्तारका लागि तथ्याङ्क पोर्टल र सूचना प्रविधि केन्द्र फलदायी हुने बताए ।