सुदूरपश्चिम

आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब पाएनन्

खलङ्गा । जुम्लाकाआठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब  नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गरे ।

गाउँपालिकाअन्तर्गत पर्ने पाँच स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र कर्मचारी गरी करीब २८ कार्यरत रहेका छन् । उनीहरु सबैले मङ्सिरदेखि तलबभत्ता नपाएको उनको भनाइ छ । मङ्सिरदेखि तलब नपाउँदा समस्या भएकोे स्वास्थ्य सहसंयोजक गणेश शाहीले बताए । ऋण निकालेर खर्च चलाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । “चार महीनासम्म तलब नपाउँदा खर्च कसरी धानेका हौँला”, शाहीले भने, “चार महीना भइसक्यो, कसरी काम गर्ने, हाम्रो घरव्यवहार चलाउनु पर्दैन रु” धेरै पटक गुहार्दा पनि तलब नपाएको उनको भनाइ छ ।

रारालिही स्वास्थ्यचौकीका इञ्चार्ज दिनेश चौधरीका अनुसार मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता छ । उनले भने, “आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।” स्वास्थ्यकर्मीले चार महीनादेखि तलब पाउन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले चाँडो तलबभत्ताको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

यता गाउँपालिकाका लेखापाल मुनप्रसाद खत्रीका अनुसार रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय ९कोलेनिका० बाटै निकासा नभएका कारण स्वास्थ्यकर्मीले तलबभत्ता खान नपाएको बताए । रकम फुकुवाका लागि पहल गरेको उनको भनाइ छ । कोलेनिका जुम्लाका निमित्त प्रमुख भक्त महतले सम्बन्धित मन्त्रालयबाटै रकम नआएका कारण जुम्लाका सबै स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको बताए । मन्त्रलायले रकम निकासाको लागि परिपत्र गर्ने बित्तिकै आठ वटै स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले तलबभत्ता पाउने महतले जानकारी दिए ।