गण्डकी प्रदेश

काँटामा ठगी

चिप्लेढुङ्गा । “लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ रु” बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । “कति हो अङ्गुर रु” “किलोको १५० हो, १४० मा लानुस् ।” ग्राहक महिलाले एक किलो अङ्गुर किनिन् । उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन् । तर व्यापारी महिलाले चिनियाँ हाते काँटा देखाउँदै भनिन्, “ल हेर्नुस् पुगेको छ ।” व्यापारीले पुगेको छ भन्दै ढिपी गरेपछि ग्राहक महिला बाटोछेउ पसलमा रहेको डिजिटल तराजुमा लगेर जोखिन् । अङ्गुर जम्मा ८५० ग्राम मात्र भयो ।

“दिदी अङ्गुर एक किलो पुगेको छैन ।” “पुर्याएर दिएको किन नपुग्ने रु” उल्टै प्रश्न व्यापारी दिदीको । ग्राहक महिला भन्दै थिइन् “सस्तो दिएको नाममा यसरी ठग्न त भएन, बरु मूल्य जति हो त्यति लिनुस्, यसरी ठगेर व्यापार नगर्नुस् ।” व्यापारी महिलाले भनिन् “बाटा बसेर सस्तोमा दिनुछ । किचकिच गर्छन्, किलो खोज्नेले पैसा पनि बढी दिनु नि ।”

महेन्द्रपुल सडकपेटीमा फलफूल बेच्नेसँग पनि ग्राहकको उही गुनासो थियो, “किलो पूरा गरेर दिनुस् है । यो काँटामा सय÷डेढसय ग्राम पुग्दैन ।” छेऊमै तरकारी बेच्ने व्यापारी महिलाले भनिन्, “यो सानो चाइनिज काँटामा जोखेर फलफूल किन्नेहरूको सधैँ गुनासो हुन्छ । आफूहरूले डिजिटल तराजुबाट तरकारी बेच्ने गरेकाले ग्राहकको जोखाइमा गुनासो हुँदैन ।”

पोखराका विभिन्न प्रमुख चोक एवं गल्लीका सडकपेटीमा डोको र क्रेटमा फलफूल बेच्नेहरूले ग्राहकलाई सस्तोको प्रलोभनमा पारेर किलोमा ठग्नु आजकाल सामान्य विषय भइरहेको छ ।

खुलमखुला काँटामा ठग्नेलाई कहीँकतैबाट कारवाही नहुँदा उनीहरूको मनोबल झनै बढेको देखिन्छ । कोही ग्राहकले बोलीहाले व्यापारी नै एकजुट भएर जाइलाग्ने गरेको स्थानीय किराना पसल व्यवसायी गङ्गा सुनार बताए । “चोकमा धेरै फलफूल व्यवसायी छन् । नगर प्रहरीले हटाउने हुँदा लुकीछिपी व्यापार गर्नुपर्ने सास्ती पनि छ । फेरि प्रहरी प्रशासनको आँखा छलीछली ग्राहकलाई ठग्न पनि खप्पिस छन् ।” सचेत ग्राहक किलो नपुगेको भन्दै फलफूलको झोलै फालेर झगडा गरेर हिँड्ने गरेको थुप्रै दृश्य आफूले देखेको सुनारले बताए ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला नियमन निकायको लाचारीका कारण उपभोक्ता विभिन्न माध्यमबाट ठगिन पुगेको बताए । “सस्तो र महँगोको कुरा होइन, जति मूल्य भनेर उपभोक्ता किन्न तयार भएका छन् त्यति मूल्यमा किलो पुर्याएर दिनुपर्छ ।” सचेत उपभोक्ताले यसविरुद्ध उजुरी दिने हो भने कारवाही हुने कोइरालाले बताए ।

कास्कीमा झण्डै ४० हजार हाराहारीका व्यवसायी छन्, तर जम्माजम्मी २०÷२२ हजारले मात्रै व्यवसाय दर्ता गरेका छन् । दर्ता नगरेका व्यापारीको नापतौलको जाँच कहीँ कतैबाट हुँदैन, अनि ठग्ने व्यवसाय फस्टाइरहेको उनको भनाइ छ । उनले भने, “हामी डोकोमा फलफूल बेच्नेप्रति सहानुभुति राख्छौँ, तर उनीहरूले कानून नै हातमा लिएर मनपरी गर्छन् । यसले नराम्रो अभ्यासको विकास हुन्छ । सचेत उपभोक्ताले नापतौल र मूल्यप्रति चनाखो भएर आवाज उठाउनुपर्ने कोइराला बताए।