बाग्मती

खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

ललितपुर । राष्ट्रिय किसान आयोगले खाद्य सम्प्रभुुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन फागुन २६ देखि २८ गते गर्ने भएको छ । आयोगले बुधबार यहाँ पत्रकार सम्मेलन गरी किसानको अधिकारलाई ऐनमा तर्जुमा गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सम्मेलनमा खाद्य सम्प्रभुुतासम्बन्धी विभिन्न विधामा १५ वटा कार्र्यपत्र प्रस्तुत हुने र नेपाल, बङ्गलादेश, चीन, भारत, इण्डोनेशिया, मलेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, प्रजग कोरिया र भियतनामका वरिष्ठ पदाधिकारी, प्राज्ञ, किसान, कृषि सहकारीमा आबद्ध व्यक्ति, उद्योगी, व्यवसायी तथा कृषि विज्ञ गरी कूल ३५० जनाको सहभागिता रहने जानकारी दिए।

आयोगका प्रवक्ता रवीन्द्र केसीले सम्मेलनमार्फत अन्य देशका किसानसँग भाइचाराको सम्बन्ध स्थापना हुने बताए। “सम्मेलनमार्फत किसानको वर्गीकरण गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न सहयोग पुग्नेछ”, केसीले भने, “सम्मेलनमार्फत आधुनिक कृषि प्रणाली व्यवस्थामा थप जोड पुग्नेछ ।” आयोगका सदस्य सचिव दुर्गाप्रसाद दुवाडीले वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको सार्थकताका लागि कृषि क्षेत्र र किसानको हकहित, अधिकार र उत्थानमा आयोग कृषिसम्बन्धी नीति, रणनीति निर्माण गर्न लागिपरेको जानकारी दिए

किसानले अनुभव गरेका चुनौतीको सामना गर्दै किसान अधिकार र खाद्य सम्प्रभुता तथा खाद्य सुरक्षाको प्रवद्र्धनसम्बन्धी ऐन कानून तर्जुमा र कार्यान्वयनका साथै नीति निर्माणको परिमार्जनमा टेवा पुग्ने कार्यक्रममा बताइएको छ ।