बाग्मती

सरकारका निर्णयको कार्यान्वयन गर्न मुख्यमन्त्रीको अनुरोध

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले गरेका हरेक निर्णयको निर्बाध कार्यान्वयन गरिनुपर्ने बताएका छन् । प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित यातायात सेवाको नाम पञ्जीकृत गर्नेसम्बन्धी छलफल कार्यक्रममा उनले यातायात क्षेत्र व्यवस्थित हुनुपर्ने बताए । यातायात क्षेत्र संवेदनशील भएकाले यसबारे सम्बन्धित सबै गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

सोही कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले सरकारले यातायात क्षेत्रको सुधारका लागि यातायातसँग सम्बन्धित सङ्घसंस्थालाई कम्पनीमा लानु परेको बताए । उनले कम्पनीसम्बन्धी मौज्दात ऐनले यातायात कम्पनीलाई पूर्णरुपमा समेट्न नसक्ने हुँदा यो क्षेत्रलाई समेट्न अलग्गै कम्पनी ऐनको आवश्यकता रहेको उल्लेख गरे ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष योगेन्द्र श्रेष्ठले लगानीकर्ता, मजदूर, सरकार र उपभोक्ता तहमा रहेका व्यक्तित्वले आफ्नो स्थानबाट सकारात्मक र प्रतिबद्ध भएर काम गर्ने हो भने यातायात क्षेत्रको समस्या पूर्णरुपमा समाधान हुने बताए । उनले यातायातसँग सम्बन्धित सङ्घसंस्थालाई कम्पनीमा लान समस्या नभएको बताए। नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका अध्यक्ष गोकर्ण पराजुलीले कम्पनी रजिष्ट्रारको कार्यालयले केन्द्रबाट मात्रै सेवा प्रवाह गर्ने गरेको बताए। कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेश प्रमुख सचिव आनन्दराज ढकाल, मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेलगायत यातायात क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता थियो । यातायात व्यवसायीले आफूहरु कम्पनीमा जान तयार भए पनि अझै धेरै समस्या बाँकी रहेकाले ढिलो भएको बताएका थिए ।
–––