समाचार

पार्टी फेरियो नयाँ शक्तिबाट नेकपा

उर्लाबारी । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं १ का संयोजक देवराज भण्डरीसहित २०८ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

मोरङको पथरीशनिश्चरेमा नेकपाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताए । मन्त्री ढकालले नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको नेकपा नै भएको जिकिर गरे । उनले सुकुम्वासीसहितका बसोबासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजातिसहितको बहुजातीय सांस्कृतिक सङ्ग्रहालयको प्रक्रिया अघि बढेको जानकारी गराएका थिए ।

नवप्रवेशी भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफूहरु एकाकार भएको धारण राखे । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्वजनमुक्ति सेनाका मोरङ संयोजक जीतबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य वासु बराल, प्रदेश सदस्य एवम् ३ नं क्षेत्रीय संयोजक पर्शुराम मिश्रसहित पार्टीमा प्रवेश गरेका थिए।