समाचार

प्रनितिधिसभाको बैठकमा विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरु प्रस्तुत

काठमाडौँ । प्रनितिधिसभाको आजको बैठकमा विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरु प्रस्तुत गरिएका छन् । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ प्रस्तुत गरे । यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई सदनले बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘सेफ गार्डस् एन्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ र ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ प्रस्तुत गरेका थिए । उक्त दुवै विधेयकमाथि सांसद सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई सदनले बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार फागुन २३ गते मध्याह्न १२ बजे बस्नेछ ।