समाचार

३२औँ मनोक्रान्ति दिवसका अवसरमा टुँडिखेलमा योग शिविर हुने

काठमाडौँ । मनोक्रान्ति केन्द्र नेपालले ३२औँ मनोक्रान्ति दिवसका अवसरमा यही फागुन २६ गतेदेखि काठमाडौँको टुँडिखेलमा एकहप्ते योग साधना शिविर सञ्चालन गर्ने भएको छ ।

योग साधनाका माध्यमबाट समाज रुपान्तरणमा चेतना जगाउने लक्ष्यसहित निःशुल्क योग शिविर आयोजना गर्न लागिएको आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । शिविरमा दैनिक एक हजार योग साधक सहभागी गराउने लक्ष्य रहेको मनोक्रान्ति केन्द्र नेपालका संस्थापक डा योगी विकाशानन्दले जानकारी दिए । शिविरमा सबै व्यक्ति सहभागी हुन सक्नेछन् ।

उपत्यका बाहिरबाट आउने योग साधकका लागि भने संस्थाले नै आवासको व्यवस्था मिलाएको छ । योग शिविर बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म चल्नेछ । शिविर चैत २ गतेसम्म चल्नेछ । विसं २०४३ देखि डा योगी विकासानन्दले सो अभियान सञ्चालन गर्दै आएका छन् । योग साधनाबारे चेतना फैलाउनु कार्यक्रमको उद्देश्य भएको केन्द्रका महासचिव डा सुवास घिमिरेले बताए ।