समाचार

डोलेश्वर मूलद्वारको शिलान्यास कलात्मक शैलीमा निर्माण गरिने

भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गरिने बताए । नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल डोलेश्वर महादेव मन्दिरको मूलद्वार शिलान्यास कार्यक्रममा यसका लागि प्रत्येक वडा शिवालय र अन्य प्रसिद्ध मन्दिरलाई छुने गरी शिव सर्किटको गुरुयोजना निर्माणमा जुटेको बताए ।

उनले नगरपालिकाले यो वर्ष भौतिक निर्माणको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउँदै भौतिक निर्माणको क्षेत्रमा ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । नगरपालिका प्रमुख थापाले नगरपालिकाको १० वटै वडामा भौतिक निर्माणअन्तर्गत सडक तथा पुल निर्माण कार्यलाई तीव्रता दिएको र सबै वडालाई मुख्य सडक सञ्जालसँग जोड्ने काम भएको बताए । नगरपालिका भित्र सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा ठूला आयोजना समेत अगाडि बढेको उनले जानकारी दिए ।

डोलेश्वर महादेव मन्दिर अगाडिको मूलद्वार कलात्मक शैलीमा निर्माण गरिने नगरपालिका–८ का वडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका पूर्ववरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए । नगरपालिकाको रु २० लाखको अनुदानमा मूलद्वार निर्माण हुनलागेको हो ।