समाचार

कैदीबन्दीलाई शौचालय जान लाइन बस्नुपर्ने बाध्यता

गलकोट । बागलुङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई शौचालय जान लाइन बस्नुपर्ने बाध्यता रहेको छ । क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी भएपछि शौचालय जान निकै समस्या भएको हो । ३५ जना क्षमता रहेको कारागारमा हाल ११० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो ।

बिहानको समयमा शौचालय प्रयोग गर्नका लागि कैदीबन्दीले पालो कुर्नुपर्ने अवस्था रहेको कारागारका चौकीदार सूर्य नेपालीले बताए। जिल्ला कारागारभित्र हाल पाँचवटा मात्र शौचालय भएकाले कैदीबन्दीलाई समस्या परेको नेपालीले बताए।

नेपालीले भने, “पर्याप्तरुपमा शौचालय नहुँदा बिहानको समयमा शौचालय जान निकै समस्या भएको छ, शौचालय जान पालो पर्खनुपर्छ ।” हामीले पटकपटक शौचालय निर्माणका लागि आग्रह गरे पनि हालसम्म आवश्यक शौचालय निर्माण हुन नसकेको जिल्ला कारागार प्रमुख मोहन उपाध्यायले बताए । उनले कैदीबन्दी स्तान्तरणका लागि पहल गरे पनि स्तान्तरण हुन कैदीबन्दी नमानेका कारण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको उपाध्यायले बताए।

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले कारागारलाई व्यवस्थित गर्न पहल भइरहेको बताए । खरेलले बागलुङ, पर्वत र म्याग्दीका जिल्ला कारागारलाई गाभेर बागलुङमा महिला बन्दीगृह तथा पर्वत र म्याग्दीमा पुरुष बन्दीगृह बनाउनका लागि कारागार विभागमा आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

कारागारको समस्या समाधान गरी सुविधासम्पन्न शौचालय निर्माण तथा अन्य भौतिक पूर्वाधार मर्मतसम्भारका लागि शहरी विकास तथा भवन कार्यालयले आवश्यक बजेट विनियोजन गर्न लागेको कार्यालय प्रमुख इञ्जिनीयर सचिनकुमार देवले बताए । कारागारमा महिला कैदीबन्दीलाई दुईवटा शौचालयले खासै समस्या नभए पनि पुरुष कैदीबन्दीलाई जम्मा तीनवटा शौचालयले निकै समस्या भएको हो ।