बाग्मती

एकीकृत सूचना प्रविधि सेवा केन्द्रमा सेवा लिन जानेको सङ्ख्या न्यून

बनेपा । हातहातमा मोबाइल र गाउँगाउँमा इन्टरनेट सेवा उपलब्ध भएपछि सेवाग्राहीको आवागमन नहुँदा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा स्थापना गरिएको एकीकृत सूचना प्रविधि सेवा केन्द्रमा सेवा लिन जानेको सङ्ख्या न्यून बन्दै गएको छ ।

स्थानीयस्तरमै छिटो र छरितो रूपमा विद्युतीय सेवा इन्टरनेटमार्फत कार्यालय, गैरसरकारी सङ्घसंस्था, निजी कम्पनी र व्यक्तिगत कामका लागि सहजता प्रदान गर्ने उद्देश्यले सूचना प्रविधि विभागको सहयोगमा स्थापना भएको एकीकत सूचना प्रविधि सेवा केन्द्रमा सेवाग्राहीको आगमन नै कम भएको केन्द्रले जनाएको छ ।

नगरपालिकाले वडा कार्यालय, विद्यालय र स्वास्थ्यचौकीका लागि इन्टरनेट सेवा पु¥याएका कारण पनि केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या न्यून भएको केन्द्रले जनाएको छ । सूचना प्रविधि शाखा अधिकृत उमेश अधिकारीले भए “व्यक्तिका हातहातमा मोबाइल र गाउँगाउँमा इन्टरनेटको सुविधा भएको कारणले पनि हुनसक्छ, सेवा लिन आउनेको सङ्ख्या निकै न्यून छ ।”

आवश्यक पर्ने विवरणका लागि सेवाग्राहीले वडा कार्यालयमै सम्पर्क गरी सेवा लिने गरेको र प्रायजसो मानिस काठमाडौँतिरै हुने भएका कारण पनि उतैबाट काम हुने भएकाले एकीकृत सूचना प्रविधि केन्द्रमा सेवा लिन आउनेको सङ्ख्या न्यून भएको उनको भनाइ छ ।

ई–सेवाबाट जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, नाता कायम, बसाइँसराइलगायत आधारभूत सेवा, सवारी चालक प्रमाणपत्रको लागि फारम भर्ने, राहदानी फारम, कम्पनी दर्ता, लोकसेवा आयोगको लागि फारम भर्ने, फार्म दर्ता, घरेलु उद्योग दर्ता, सामुदायिक संस्था÷गैरसरकारी संस्था दर्ता, भ्याट÷पान दर्ता, खानेपानी, बिजुली, टेलिफोनको बिल भुक्तानी, मालपोत, जग्गा प्रशासनसम्बन्धी कार्यका साथै सूचना प्रविधिको अधिकतम प्रयोग गरी सेवा लिन सकोस् भन्ने उद्देश्यले स्थापना भएको सेवा केन्द्र अहिले फोटोकपी, स्क्यानिङ र प्रिन्टमा मात्रै सीमित रहेको छ ।