गण्डकी प्रदेश

महाशिवरात्रिमा तीन लाख बढी भेटी

म्याग्दी  । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एकैदिन रु तीन लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रिको अवसरमा मन्दिरमा दर्शन गर्न आएका भक्तजनबाट रु तीन लाख १४ हजार २५० भेटी सङ्कलन भएको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले बताए ।

भेटीको दुरुपयोग हुन नदिन नियमित रूपमा भेटी सार्वजनिक गर्ने गरिएको छ । शिवरात्री, बालाचर्तुदशी, साउन महीनाका हरेक सोमबारलगायतका पर्वको दुई दिनभित्र भेटी सार्वजनिक गर्ने गरिन्छ । गत वर्षको शिवरात्रिमा रु दुई लाख ६६ हजार १८८ भेटी सङ्कलन भएको थियो ।

गलेश्वरमा महाशिवरात्रिमा करीब ५० हजार भक्तजनले दर्शन गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए। गलेश्वरमा शिवरात्रिमा दर्शन गर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलवस्तुलगायत जिल्लाबाट भक्तजन आएका थिए ।

मन्दिरमा सङ्कलन भएको भेटी संस्कृत पाठशाला सञ्चालन, ज्येष्ठ नागरिक आश्रमलगायत धार्मिक, सामाजिक र भौतिक निर्माणका क्षेत्रमा खर्च गर्ने गरिन्छ । कृष्णागण्डकीबाट उठेर नौ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।