अन्तर्राष्ट्रिय

अमेरिकामा २३ जनाको मृत्यु , राष्ट्रपति ट्रम्प चिन्तित

अलाबामा, अमेरिका ।अमेरिकाको अलाबामा राज्यमा आएको शक्तिशाली आँधीको कारण भएको भौतिक सम्पत्ति एवम् मानवीय क्षतिको उद्वारकार्यमा कठिनाई भएको छ । धेरै क्षेत्रलाई ओगटेको यस क्षतिको उद्वारकार्यमा कठिनाई आएको अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

उद्धारकार्यमा कठिनाइ आएको हुनाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । उक्त आँधीको क्षतिको पछिल्लो विवरणअनुसार २३ जनाको मृत्यु भइसकेको छ । जर्जिया राज्यको सीमामा पर्ने यस राज्यमा आएको सो आँधीले इटा र रोडाका टुक्रा उडाएको र रुख ढलेका कारण बढी क्षति भएको प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरी अधिकारीकाअनुसार यस प्रकोपमा ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । ती बालबालिकामा एकजना छ वर्षे पनि परेका छन् ।

आँधीबाट अति प्रभावित क्षेत्रमा गत आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको पनि बताइएको छ । त्यसैगरी सोमबार पनि व्यापक खोज तथा उद्वारकार्य गरिएको उनले जानकारी दिए ।

आँधीबाट मानिसका घरमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर कैयौँ व्यक्ति घाइते भएका पनि प्रहरी अधिकारीले बताएका छन् । तत्काल उद्वार गरिएका सयौँ व्यक्तिलाई अस्पताल भर्ना गरिएको र केही व्यक्ति निकै गम्भीर अवस्थामा रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान पनि गरिएको छ ।

राष्ट्रिय मौसम विज्ञानसम्बन्धी निकायले निकै शक्तिशाली आँधीले अलाबामाको करिब एक किलोमिटर क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।

आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्वारकर्मीलाई खोज तथा उद्धारका लागि परिचालन गरिएको थियो । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गर्नुभएको थियो ।