चितवन । जिल्लाको पहाडी क्षेत्रमा रहेका वासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिकाको वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीयले स्थानीयलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीयले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरुसम्म पुर्याउन छुट्टाछुट्टै व्यक्तिलाई पैसा दिने गरेका छन् । उनका अनुसार निरुत्साहित गर्न प्रयास गरेको भए पनि सकिएको छैन । स्थानीयवासीलाई उद्धृत गर्दै बरालले भने “गाउँगाउँमा कहिलेकाहीँ तस्कर–तस्करबीचमा गोली हानाहान हुने गरेको सुनेको छु ।” भारतीय तस्करले क्षेत्र विभाजन गरेर स्थानीयवासीलाई परिचालन गर्ने गरेको बरालले बताए ।
स्थानीयवासीले थोरै पैसा लिएर काम गर्ने बुझिएको छ । यद्यपि ठूलो क्षेत्रफलमा गाँजा लगाउने गरिएकाले लाखौँको कारोवार हुने गरेको स्थानीयवासी बताउँछन् । सो क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ । शहरी क्षेत्रबाट टाढा भएकाले प्रहरी प्रशासनको ध्यान पुग्न नसक्ने भएकाले भारतीय तस्करले स्थानीयवासी परिचालन गर्न सफल भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले समय–समयमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने गरेको बताए। हालैमात्र प्रहरीले लोथरमा करीब १८ क्विन्टल गाँजा नष्ट गरेको उनले बताए ।
राठौरले चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा भारतीय तस्करले स्थानीयवासी परिचालन गरी गाँजाखेती गर्दै आएको बुझिन आएको बताए।
सोझासाझा चेपाङलाई परिचालन गर्ने गरेको राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङले बताए। सम्बन्धित बारी धनी चेपाङलाई गाँजा लगाउने, गोडमेल गर्ने र थन्क्याउनेसम्मको एकमुष्ट वा छुट्टाछुट्टै जिम्मा दिएर रकम दिने गरेको उनले बताए ।
–––