प्रदेश 2

आर्थिक विकास सामाजिक रूपान्तरणमा केन्द्रित नगरिएमा परिवर्तनको आयु दीर्घ हुन सक्दैन –नेता यादव

जनकपुरधाम । प्रदेश नं २ लाई समृद्धि पार्न औद्योगिकीकरण र कृषिको वैज्ञानिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल उद्योग परिसङ्घद्वारा आयोजित ‘प्रदेश नं २ को समृद्धिको मार्गचित्र’ विषयक अन्तरक्रियाका वक्ताले प्रदेशमा सामाजिक सूचकाङ्कमा लगानीको वातावरण निर्माण गर्नु जरूरी रहेको बताए।

समृद्धिअन्तर्गत प्रदेशमा रोजगारी दिने, शिक्षित, दक्ष र समतामूलक, स्वाभिमानको प्रत्याभूति, शान्तिपूर्ण, उन्नत अर्थतन्त्रतर्फ ध्यान केन्द्रितमा जोड दिँदै उनीहरूले औद्योगिक लगानीका लागि प्रदेशको नामकरण र राजधानी अपरिहार्य भएको धारणा उनको थियो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, विभिन्न जिल्लामा खाद्य प्रशोधन उद्योग स्थापना र विश्वस्तरको प्राविधिक विश्वविद्यालय स्थापनालाई पनि प्रदेशको समृद्धिको मार्गचित्रमा प्राथमिकतामा राख्नुपर्ने उनीहरूले बताए । प्रदेशको मुहार फेर्नका लागि निजी क्षेत्रको सहभागितालाई सहज पार्ने वातावरण, जग्गा उपलब्ध भएमा लगानीको सम्भावना पर्याप्त रहेको धारणा उनीहरूले रख्य ।

उपप्रधानमन्त्री उपेन्द्र यादवले तराई क्षेत्रमा सबैभन्दा बढी लगानीको सम्भावना भएको बताउँदै प्रदेश नं २ लगानीकर्ताका लागि उपयुक्त र महत्वपूर्ण ठाउँ भएको चर्चा गरे । उनले मुलुकमा भएको परिवर्तनलाई आर्थिक विकास सामाजिक रूपान्तरणमा केन्द्रित नगरिएमा परिवर्तनको आयु दीर्घ हुन सक्दैन भने ।

लगानीकर्ता आर्थिक विकास मार्गको ठूलो शक्ति भएको चर्चा गर्दै उपप्रधानमन्त्री यादवले प्रदेश नं २ कृषि, उद्योग, सिँचाइ, शिक्षा, पर्यटन, सडक, हवाई, रेल मार्ग, ऊर्जा क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्नु आवश्यक भएको प्रसङ्ग उल्लेख गरे । उनले प्रदेश सरकारले केन्दीय सरकारसँग समन्वय गरी लगानीका लागि चाहिने वातावरण निर्माणका लागि पहल गर्नु जरूरी भएको बताए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्धि बनाउने अभियानमा निजी क्षेत्रलाई लगानी गर्न वातावरण निर्माण र सहयोगका लागि सरकार तयार छ भन्दै प्रदेशमा खाद्य उद्योगका साथै ग्यास उद्योग स्थापनाको पर्याप्त सम्भावना रहेको बताए । उनले विगतमा प्रदेशमा कृषि उत्पादनका लागि उब्जाउ जग्गा भएको र उत्पादन पर्याप्त हुने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कृषिमा आधारित उद्योग स्थापनामा पनि ध्यान जानु आवश्यक भएको बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सरकार निजगढ विमानस्थल निर्माणको विरोधी नभई निजगढमा हुने वातावरणीय क्षतिको व्यवस्थापन गराई निर्माण कार्य अघि बढाउन केन्द्र सरकारलाई आग्रह गरिरहेको बताए ।

भौतिक पूर्वाधारमन्त्री जितेन्दप्रसाद सोनालले समृद्धिका लागि शान्ति, विभेदबाट मुक्ति र समतामूलक समाज आवश्यक छ भन्दै केन्द्रीय सरकार हरेक कुरामा सिलिङ गरिरहेका कारण समृद्धिको बाटोमा तगारो र सङ्घीयताको बाधक बनेको प्रसङ्ग उल्लेख गरे ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले प्रदेशको भविष्य र गरीबी हटाउने योजनामा लगानी गर्ने अवधारणा आत्मसात् गरी औद्योगिक, पर्यटन, शिक्षा, सडक विस्तार, पुल निर्माण, रेलको विकास, विश्वविद्यालय स्थापना तथा ऊर्जा विकासलाई समृद्धिको मार्गचित्रमा प्राथमितामा राख्नुपर्दछ भने ।

राष्ट्रिय योजनाका पूर्वउपाध्यक्षहरु डा शङ्करप्रसाद शर्मा, डा गोविन्दराज पोखरेल र डा स्वर्णिम वाग्ले तथा परिसङ्घ प्रबुद्ध परिषद्का संयोजक डा शम्मुराम सिम्खडा, इञ्जिनीयर ईश्वर गापालगायतले सिँचाइ, सडक, माछापालन, अर्गानिक खेतीको, विशिष्ट परियोजना, मेगा र स्मार्ट सिटी र गार्हस्थ्य उत्पादनलाई फलदायी बनाउने उद्योग, स्वास्थ्य, शिक्षा प्रशोधनमूलक उद्योग स्थापनालाई समृद्धिको मार्गचित्रको प्राथमिकतामा राखी लगानीको वातावरण आवश्यकतामा जोड दिए ।