समाचार

निगम र आन्दोलनरत एलपी ग्यास उद्योग बीच समझदारी

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ ।

नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच भएको समझदारीअनुसार ग्यास उद्यमी÷व्यवसायीले आजैका मितिदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरी निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो ।

सङ्घको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा आज निगम र सङ्घका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको हो । उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र सङ्घका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।