मनोरञ्जन

नेपाली लोकसङ्गीतको विकासका लागि मिडियाले कलाकारलाइ साथ दिनुपर्योः बद्री पंगेनी

रुपन्देही । नेपाली लोकसङ्गीतको विकासका लागि सञ्चारमाध्यमको साथ आवश्यक रहेकामा कलाकारले जोड दिएका छन् ।

आज बुटवलमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा उनीहरुले सञ्चारमाध्यममा नेपाली कलाकारको भन्दा विदेशी कलाकारको चर्चा बढी हुने गरेको दुखेसो व्यक्त गरे । साक्षात्कारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पङ्गेनीले नेपाली लोकसङ्गीतको विकासका लागि मिडियाले कलाकारलाइ साथ दिनुपर्ने बताए ।

उनले भने, “मिडियामा आउन कि कलाकार मर्नुपर्ने कि विवादमा आउनुपर्ने, ठूला भनिएका केही मिडियाले यीबाहेक हाम्रो विषयमा लेख्दैनन् ।” सञ्चारमाध्यमको साथ बिना नेपाली लोकसङ्गीतको विकास असम्भव रहेको उनको भनाइ थियो । प्रतिष्ठानले बुटवलमा राष्ट्रियस्तरको दोहोरी महोत्सव आयोजना गरे पनि मिडियाले पर्याप्त स्थान नदिएको उनले गुनासो गरे ।

साक्षात्कारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले प्रतिष्ठानले काठमाडौँ बाहिर बुटवलमा पहिलोपटक राष्ट्रियस्तरको दोहोरी महोत्सव चलिरहेकाले प्रचारप्रसार गरिदिन सञ्चारमाध्यमलाई आग्रह गरे ।