खेलकुद

माध्यमिक विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङशील्ड’ शुरु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका व्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता शुरु भएको छ ।

नगरपालिकाको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगितामा ११ खेल खेलाइने प्रतियोगिता व्यवस्थापन समिति अध्यक्ष श्रीकृष्ण ज्योतिले जानकारी दिए । नगरपालिकाका ४५ विद्यालय प्रतियोगितामा सहभागिता रहेको जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सांसद कृष्ण राईले खेलकूदले बालबालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गर्ने भएकाले शिक्षण सिकाइको अनिवार्य क्रियाकलापका रुपमा राख्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले विद्यालय तहदेखि नै खेलको अभ्यास गर्ने विद्यार्थीले नै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको नाम राख्ने भएकाले खेलकूद प्रतियोगिता नियमित रुपमा गरिनुपर्ने बताए।

नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकामा खेलकूदलाई महत्व दिन फूटबल खेल मैदान निर्माण योजनालाई प्राथमिकतामा राखिएको बताए। नगरपालिकाका सबै विद्यालयमा खेलकूदलाई अनिवार्य शैक्षिक क्रियाकलापका रुपमा विकास गर्न लागिएको उनको भनाइ थियो । उद्घाटनकै दिन १०० र २०० मिटर दौडका दुई खेल सम्पन्न भएको समिति संयोजक ज्योतिले बताए । खेलको नतिजा भने एकैपटक घोषणा गरिने उनले जानकारी दिए।