खेलकुद

‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि शुरु

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ ।

एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकूद केन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने उक्त खेल अपराह्न १२ः४५ बजे हुनेछ ।
त्यस्तै बुधबार नै हुने अर्को खेल महावीर स्टडिज एण्ड एथलेटिक्स एशोसियशन र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ः४५ बजे हुनेछ । सी डिभिजन लिगमा विभिन्न ११ क्लब सहभागी हुने छन् । प्रतियोगितामा सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सामाजिक युथ क्लब, स्वयम्भू युवा क्लब, प्लानिङ ब्वाइज, ओसीस, मनोहोरा र सानो गौचरण क्लब छन् ।

त्यसैगरी समूह ‘बी’ मा वीरगञ्ज युथ क्लब, खालीबारी युथ क्लब, महावीर स्टडिज एण्ड एथलेटिक्स एशोसियशन, सानेपा र समाज कल्याण खेलकूद केन्द्र क्लब रहेका छन् । प्रत्यक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा पुग्नेछन् भने शीर्ष चार टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिनेछ ।