समाचार

रोकिएन अझै बाल विवाह

दुल्लु । कलिलै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी छ भनेर विगतमा धेरै चर्चा हुन्थ्यो । हरेक सार्वजनिक कार्यक्रममा बहस हुन्थ्यो । सरकारी तथा गैरसरकारी निकाय र प्रजनन् स्वास्थ्य क्षेत्रमा काम गर्ने निकाय यसबारे सा¥है चिन्ता लिन्थे । बेला–बेला बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्या कम गर्ने भनेर अभियान पनि चलाइन्थ्यो । एकथरीले त्यस्ता अभियानको सत्तो सराप गर्थे । अखबारमा छ्याप्छ्याप्ती समाचार छापिन्थे, अहिले पनि छापिन्छन्, त्यो प्रक्रिया अझै रोकिएको छैन ।

बाल विवाह रोकियो ? या सानै उमेरमा विवाह गर्नेको सङ्ख्यामा कमी आयो ? होटेलमा गरिने सार्वजनिक कार्यक्रममा मात्र होइन, टोल टोल, गल्ली गल्ली र हरेक चिया पसलमा आजभोलि यसबारे चर्चा हुन्छ । चौध वर्ष पुगेकी बालिकाले विवाह गर्छिन् । विवाह पछि श्रीमानको बाबुआमाको सहारा बनेकी १४ वर्षे बुहारी (बालिका) १६ वर्ष नपुग्दै आमा बन्छिन् । धेरै जसोलाई प्रसूतिका लागि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । कतिपयले ज्यान गुमाउँछन् । यी सबैको जड बाल विवाह हो ।

ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीको तथ्याङ्कले बाल विवाह र २० वर्ष नपुग्दै आमा बन्नेको सङ्ख्यामा कमी आउनुको साटो बढ्दै गएको देखाउँछ । डुङ्गेश्वर गाउँपालिकाको अवलपराजुल स्वास्थ्यचौकीमा आर्थिक वर्ष २०७४/७५ मा ६६ सुत्केरी भएका रहेछन् । त्यसमध्ये २५ जना सुत्केरी हुने २० वर्षमुनिका थिए । ती १५ देखि २० वर्ष उमेर समूहका हुन् ।

दैलेख अस्पतालमा पुग्दा सुतकेरीको अवस्था झनै नाजुक देखा प¥यो । आव २०७४/७५ को तथ्याङ्कले जिल्लाभर पाँच हजार ४४६ जनाले प्रसूति सेवा लिएको देखाउँछ । तीमध्ये एक हजार ४५९ जना २० वर्षमुनिका रहेको दैलेख अस्पतालका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । उनका अनुसार बाँकी तीन हजार ९८७ महिला २० वर्ष उमेर पुगेका हुन् । बीस वर्षमुनिका १२ जनाले गर्भपतन गराएको देखियो भने २० वर्षमाथिका ३३६ जनाले गर्भपतन गराए ।

चालु आवको आठ महिनाको तथ्याङ्क पनि उस्तै छ । यस अवधिमा प्रसूति भएका ४० प्रतिशतभन्दा बढी कलिला उमेरका किशोरी हुने गरेको खोप अधिकृत रेग्मीले बताए । जिल्लाभर दुई अस्पताल, ५६ स्थास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्यकेन्द्र, पाँच सामुदायिक स्वास्थ्य एकाई र तीन शहरी स्वास्थ्य क्लिनिक छन् । यी मध्ये अस्पताल बाहेक ५८ प्रसूति केन्द्र दैलेखमा छन् ।

पाँच महिना अघि नारायण नगरपालिका–९ की १५ वर्षीया दिपा शाहीको शल्यक्रियामार्फत प्रसूति गराइयो । गत वर्ष दैलेख पश्चिमको आठबीस नगरपालिकाकी १५ वर्षीया कृष्णा कसेराले बच्चा जन्माउन नसक्दा ज्यान गुमाइन् । आमासँगै नवजात शिशुको पनि मुत्यु भयो । उनले १३ वर्षको उमेरमा विवाह गरेकी थिइन् । यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन् । यिनीहरुलाई जस्तै जिल्लाका अधिकाँश गर्भवतीलाई बचाउन शल्यक्रिया गराउने गरिएको छ । शल्यक्रिया गरेकामा प्रायः २० वर्षमुनिका छन् ।

दैैलेख अस्पतालका अनुसार १५ वर्षमाथि र २० वर्षमुनिका ४० प्रतिशत आमा बन्ने गरेका छन् । अस्पताल प्रमुख डा निरञ्जन पन्तले उनीहरुमध्ये अधिकाँशको शल्यक्रियाबाट प्रसूति गराइएको जानकारी दिए । “कलिलै उमेरमा आमा बन्न तयार हुन्छन् तर, बच्चा जन्माउन नसक्दा आमा र शिशुको ज्यान बचाउन शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ,” उनले भने । तिनीहरु स्वयं स्याहार सुसारमा ध्यान दिन नसक्ने कलिला किशोरी हुन् । केहीलाई गर्भवती अवस्थामा कति पटक जाँच गराउने भन्नेसमेत थाहा नभएको अनुभव भइसकेको बताउँछन् । यही कारण मातृ मृत्युदर बढ्ने गरेको हो । कम उमेरमै विवाह गर्नाले उच्च शिक्षा हासिल गर्न असमर्थ हुने, गर्भवती अवस्थामा जटिलता आउने जस्ता समस्या हुने डा पन्तले बताए ।

दैलेखमा बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्यामा कमी ल्याउन अभियान सञ्चालन नभएका होइनन् । केही अभियान चालु छन्, केही सम्पन्न भए । ती अभियान प्रभावकारी नबन्दा बाल विवाह नघटेको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष चक्र केसी बताउछन्।