पर्यटन/संस्कृति

पर्यटकीय गन्तव्य बन्दै तालपोखरा

बेझाड । पर्यटकीय क्षेत्र रामपुरको तालपोखरामा डुङ्गाबाट एकै दिनमा रु ८० हजार बराबरको आम्दानी भएको छ । महाशिवरात्रि पर्वका दिन सोमबार डुङ्गा सञ्चालनबाट सो आम्दानी भएको हो ।

सोमबार एक हजारभन्दा बढी टिकट बिक्री भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले जानकारी दिए । यही फागुन १६ देखि २० गतेसम्म चलेको विशेष मेलामा डुङ्गाबाट रु एक लाख ६० हजार आम्दानी भएको उनले बताए । “डुङ्गाबाट नसोचेको आम्दानी भएको छ”,उनले भने । दानपेटिका र उद्यानबाट रु दुई लाख आम्दानी भएको छ ।

कास्कीको फेवातालको स्वरुपमा निर्माण गरिएको तालपोखरामा तीन ¥याफ्टिङसहित ६ डुङ्गा सञ्चालन गरिएको थियो । तालको बीचमा जलेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्ने र अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ । “डुङ्गामा एकै पटकमा १५ देखि २० जनासम्म राख्न सकिन्छ”, डुङ्गा चालक भगवान् देवकोटाले भने ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तालपोखरामा पहिलो पटक डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको स्थानीयवासी ओमप्रकाश रेग्मी बताए । सो प्रतियोगितामा ११ समूहले भाग लिएको थियो । किशोर देवकोटाको समूह दुई मिनेट २३ सेकेण्डमा तालपोखरामा डुङ्गा घुमाएर पहिलो भयो । हरि भण्डारीको समूह द्वितीय तथा अमृत भण्डारीको समूह तृतीय भयो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु दश हजार, रु पाँच हजार र रु दुई हजार ५०० पुरस्कार प्रदान गरिएको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा प्रतियोगिताबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको बताए । “नगरपालिकाले प्राथमिकतामा राखेर प्रवद्र्धनमा सहयोग गरिरहेको छ”, उनले भने।
नेपालकै उत्कृष्ट १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत तालपोखरामा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताए ।

वर्षायामको पानी जम्मा हुने सो पोखरीलाई स्थानीयवासीले तालको रुपमा विकास गरेका हुन् । करीब ६५ रोपनी क्षेत्रफलमा फैलिएको सो ताललाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन २०६६ सालमा संस्था गठन गरी निर्माण अगाडि बढाइएको हो । श्रीमद्भागवत् धनधान्यान्चल ज्ञान महायज्ञ सञ्चालन गरी यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको परिकल्पनाकार देवराज देवकोटाले बताए । “अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, उनले भने । अहिले दैनिक करीब २०० जनाले डुङ्गा चढ्ने गरेका छन् । कुलो र नहरको पानीबाट तालपोखरामा डुङ्गा सञ्चालन गरिँदै आएको छ । नजिकै रहेको कालीगण्डकीबाट समेत लिफ्टिङ गरी तालमा पानी ल्याइएको छ ।

कृत्रिमतालले पर्यटकलाई लोभ्याउन सफल भएको छ । कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ । तालपोखराको पूर्वाधार निर्माण गर्न हालसम्म रु एक करोड ९८ लाख ६८ हजार खर्च भएको र बाँकी पूर्वाधार निर्माणमा रु एक करोड बराबर खर्च हुने लेखा समिति संयोजक पुरुषोत्तम ढकालले बताए । रामपुर नगरपालिकाले आव २०७a३÷७४ मा रु एक लाख २५ हजार, आव २०७४÷७५ मा रु २८ लाख तथा चालू आव २०७५÷७६ मा रु २० लाख रकम विनियोजन गरिएको थियो ।