राजनीति

चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संबैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, डा विजयकुमार दत्तलाई मधेशी आयोग र विष्णुप्रसाद चौधरीलाई थारु आयोगको अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि परिषद्ले समितिमा पठाएको थियो । उनीहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संबैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै नेपाली काङ्ग्रेसका तर्फबाट समितिमा रहनुभएका सांसदको भने बैठकमा अनुपस्थिति रहेको थियो ।