प्रदेश 1

नेकपाका दुईटै अध्यक्ष झापामा

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुगेका छन् । काठमाडौँबाट यती एयरलायन्सबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले चन्द्रगढी विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्नुहुने छ । सो कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नै विराटनगर आएका थिए ।

सुखानी घटनामा कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती सरकारले विसं २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो ।