अन्तर्राष्ट्रिय

फिलिपिन्सको विमानस्थलमा झण्डै एक हजार ५०० कछुवा बेबारिसे अवस्थामा फेला

मनिला । फिलिपिन्सको विमानस्थलमा तस्करहरुले छाडेका झण्डै एक हजार ५०० कछुवा बेबारिसे अवस्थामा फेला परेका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार टेपले बेरेको अवस्थामा ती कछुवाहरु विमानका यात्रु बस्ने ठाउँमा आइतबार भेटिएको हो । दुर्लभ जीवजन्तुको ओसार पसार तथा बेचविखन गर्नु अवैध हुने भएकाले कारबाहीमा परिने डरले तस्करहरुले छाडेर भागेको अधिकारीहरुको भनाई रहेको छ ।

अमेरिकाको विदेश विभागले दुर्लभ जीवजन्तु ओसार पसारका लागि फिलिपिन्स एउटा महत्वपूर्ण श्रोत र पारबहन केन्द्रको रुपमा रहेको जनाएको छ ।
हङ्कङ्गबाट आएका फिलिपिन्सका यात्रुको कपडा, झोला र जुत्ताले ढाकेको अवस्थामा ती कछुवाहरु आइतबार भेटिएका हुन् । बरामद गरिएको कछुवालाई वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तानन्तरण गरी घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको अधिकारीले बताएका छन् ।

विमानबाट जफत गरिएका कछुवाको मुल्य झण्डै ८७ हजार अमेरिकी डलर पर्ने बताइएको छ । यस्ता तस्करलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुने फिलिपिन्सको कानुनी व्यवस्था रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।