सुदूरपश्चिम

तीन वर्षभित्र प्रत्येक घरधुरीमा खानेपानीका धारा निर्माण

जुम्ला । हिमा गाउँपालिका–३ जोगीबाडाकी खुम्बेनी योगीलाई खोलाको दूषित पानी पिउनुको पीडाले अहिले पनि सताइरहेको छ । गाउँमा खानेपानी नहुँदा उनलाई नजिकैको खोलाको दूषित पानी पिउनुको विकल्प पनि थिएन ।

“विगत एक दशकयता जङ्गलमा पानीका मुहान सुक्दै गएपछि गाउँका धारा पनि सुक्न थाले, अनि सबै गाउँले घण्टौँ हिँडेर खोला र नदीको पानी खान बाध्य भयौँ”, उनले भने, “त्यही दूषित पानी खाएकै कारण अहिले मलाई पत्थरी रोगले सताएको छ, मजस्ता धेरै गाउँलेको स्वास्थ्यमा समस्या देखिएको छ ।”

स्थानीयवासीले मुहानबाट सिधै गाउँमा ल्याएका दुई खानेपानीका धारा पाँच वर्षपछि अर्थात् विसं २०७० मै सुकेपछि २०७२ मा पुनः स्थानीय एक संस्थाको पहलमा ११ धारा निर्माण भए । तर ती धारामा वर्ष दिन नपुग्दै पानी आउन छाड्यो । त्यसपछि जोगीबाडावासी खोला र नदीको पानी पिउनुपर्ने पुर्खादेखिको समस्यामा फर्किए ।

यस्तै समस्यालाई मध्यनजर गर्दै गाँउपालिकाले प्रत्येक घरधुरीको आँगनमा खानेपानीको धारा पुर्याउने योजना अघि सारेको छ । गाउँपालिकाले एक घर एक धाराको अवधारणाअनुसार यो योजना अघि बढाएको हो । गाउँपालिकामा काम गर्दै आएका सहयोगी दाता गैरसरकारी संस्था वाटर एड, किर्डाक नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ जुम्लाको समन्वय र गाउँपालिकाको लगानीमा उक्त योजना अघि सारिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए। उनले भने, “अबको तीन वर्षभित्र सातै वडाका प्रत्येक घरधुरीमा खानेपानीका धारा निर्माण भई जनताले पानी प्रयोग गरिसक्नेछन् ।”

गाउँपालिकाले खानेपानी तथा सरसफाइका क्षेत्रमा पूर्ण सरसफाइको कार्यक्रम सञ्चालन गर्ने, सम्पन्न भएका योजना उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने, एक घर एक धाराको अवधारणालाई अवलम्बन गर्ने, पानी परीक्षण तथा शुद्धीकरण गर्ने नीति गाउँसभाबाट पारित गरी कार्यान्वयनमा ल्याएको उनले बताए ।

पटक–पटक अनुगमनका क्रममा गाउँपालिका पुगेका जिल्ला समन्वय समिति जुम्लाका सदस्य जयराज भारतीले एक घर एक धाराले आम नागरिकको समयसमेत बचत गर्ने बताए । “खोलामा पानी ल्याउन जाने समयमा स्थानीयवासीले अब घरको अन्य काम गर्नेछन्”, उनले भने, “यसले महिलाको कार्य बोझ मात्रै होइन, सबै घरपरिवारको सरसफाइ स्थितिमा समेत सुधार आउने छ ।” एक घर एक धाराले गाउँलेलाई तरकारी तथा फलफूल खेती गरी आम्दानीको स्रोत वृद्धि हुने उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष मानबहादुर रोकायाका अनुसार गाउँपालिकाको एक घर एक धारा निर्माण गर्ने अवधारणालाई गैरसरकारी संस्थाले पनि सहयोग गर्दै आएको बताए उनले भने, “खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ शाखा जुम्लाले खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ । खानेपानी मूलदेखि मुखसम्म पिउन योग्य हुनुपर्ने र घरआँगनदेखि शौचालय सबै सरसफाइ हुनुपर्ने जस्ता विषयमा स्थानीय तहमा बहस तथा अन्तरक्रिया गर्ने गरेको उनले बताए ।

वाटर एड, किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो । गाउँपालिका–७ माथिकुडुमा ७८ घरधुरीमा रु ५५ लाख लागतमा ७८ खानेपानी धारा निर्माण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत हरिगोपाल चौलागाईंले जानकारी दिए । सोही गाउँपालिका–३ जोगीबाडामा ८२ घरधुरीमा रु ५३ लाख लागतमा ८२ धारा निर्माण गरी स्थानीयवासीले खानेपानी पिउँदै आएको उनले बताए ।

गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७४÷७५ मा रु ७० लाख र आर्थिक वर्ष २०७५÷७६ मा रु ८८ लाख बजेट विनियोजन भएको छ भने ४४६ घरधुरी लाभान्वित हुने गरी वाटर एड, किर्डाक नेपालले रु एक करोड ७८ लाख ३६ हजार ३३१ बजेट विनियोजन गरी केही योजना सम्पन्न भएका छन्, केही योजनाको काम भइरहेको जनाएको छ ।

त्यसैगरी आइएनएफ जुम्लाले खानेपानी तथा सरसफाइका क्षेत्रमा सामुदायिक स्वास्थ्य तथा विकास परियोजनाअन्तर्गत ५०० घरधुरीका लागि रु आठ लाख बजेट विनियोजन गरेको जनाएको छ । यस गाउँपालिका समुद्र सतहबाट ७०० फिटदेखि २१ हजार ७७ फिटसम्मको उचाइमा फैलिएको छ । गाउँपालिकाले कूल क्षेत्रफल १२८।०९ वर्ग किलोमिटर ओगटेको छ । बाह्र हजार ६१२ जनसङ्ख्या रहेको छ ९घरधुरी सर्वेक्षेण, २०७४० गाउँपालिकामा जन घनत्व ८२।३८ प्रति वर्गकिलोमिटर छ । गाउँपालिकामा सात वडा छन् ।