बाग्मती

विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न कृषकलाई आइपीएम प्रविधि

काभ्रेपलाञ्चोक । पाँचखाल क्षेत्रका कृषकलाई तरकारीमा विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि ‘आईपीएम’ सिकाइएको छ ।

जैविक विषादीको माध्यमबाट तरकारी उत्पादन गर्ने उद्देश्यले अगुवा कृषकका लागि आइपीएम प्रविधि सिकाइएको कृषि ज्ञान केन्द्र धुलिखेलका कृषि प्रसार अधिकृत कृष्ण धितालले बताए । उनका अनुसार लवग्रीन नेपालको प्राविधिक सहयोगमा पाँचखालमा तीन वटा तीन महीने कृषक पाठशाला सञ्चालन गरी तरकारी बालीमा आइपीएम प्रविधि सिकाइएको हो ।

हाल पाँचखाल क्षेत्रमा विशेषगरी काउली, आलु, गोलभेँडा र मुलाखेती गरिएको छ । मौसमी तथा बेमौसमी तरकारी खेती आइपीएम प्रविधिबाट गर्न सकिने प्रविधि कृषकलाई सिकाइएको धितालले बताए। उनका अनुसार पछिल्ला वर्षमा पाँचखाल क्षेत्रका तरकारीमा विषादीको मात्रा न्यून हुँदै गएको विभिन्न परीक्षणबाट देखिएको छ ।

पाँचखाल क्षेत्रमा जैविक विषादी प्रयोग गरी तरकारी उत्पादनतर्फ आकर्षित गर्न तीन कृषक पाठशालाबाट विस्तार गर्दै जाने योजना बनाइएको छ । कृषकको न्यून लागतमा स्वस्थ तरकारी उत्पादनमा समेत वृद्धि गर्दै जाने लक्ष्य लिइएको धितालले बताए ।

पाँचखालका अगुवा कृषक तेजप्रसाद तिमल्सिनाले आइपीएम प्रविधिबाट तरकारी खेती गर्नसके उत्पादन लागत कम हुने बताए । उनले भने, “जैविक विषादी आफैँले उत्पादन गर्दा कम लागत र तरकारीमा अन्य खतरनाक प्रकारका विषादी पनि नहुने भएकाले आइपीएम प्रविधि उपयुक्त देखिन्छ ।”

कृषक पाठशालामा माटो परीक्षण एवं सुधार तथा जैविक विषादी उत्पादन र प्रयोग गरी तरकारी उत्पादनबारे भिडियो, डकुमेन्ट्रीद्वारा प्रशिक्षण दिइएको कृषि प्रसार अधिकृत धितालले जानकारी दिए । उनले जैविक विषादीको प्रयोगबाट उत्पादित तरकारी खाँदा मानव स्वास्थ्य र वातावरण स्वस्थ, स्वच्छ हुने बताए ।

लवग्रीन नेपालले आफ्नो एकीकृत दिगो विकास परियोजनाअन्तर्गत पाँचखाल क्षेत्रमा आइपीएम प्रविधिबाट तरकारी खेती गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।