प्रदेश 2

बसाइन–बिसनपुर सडकमा कालोपत्र

लहान । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बसाइन–स्वर्णपट्टि सडकखण्डको तीन किलोमिटर कालोपत्र सकिएको छ ।

पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमाक्षेत्र स्वर्णपट्टिसम्म करीब १७।२८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्रबाहिर सात मिटर चौडाइ कालोपत्र गर्ने योजना छ । त्यसअन्तर्गत भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बसाइन नरपालिकाको स्वर्णपट्टिदेखि खडकपुरसम्म करीब तीन किलोमिटर सडकमा कालोपत्र सकिएको उक्त सडकका कन्ट्र्याक्टर म्यानेजर विनोद गौतमले जानकारी दिए ।

ठेक्केदार कम्पनी दिवा निर्माण प्रालि काठमाडौँले चैत मसान्तभित्र काम सक्ने गरी सडक निर्माणको काम भइरहेको जनाएको छ । चैतभित्र सडकको सम्पूर्ण काम सकेर हस्तान्तरण गर्ने गरी काम भइरहेको म्यानेजर गौतमले बताए ।

विसं २०७६ असार २० गतेसम्म सडक निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ चैतभित्रै काम सकिने गरी तीव्ररूपमा सडक निर्माणको काम भइरहेको म्यानेजर गौतमको भनाइ छ । “विसं २०७४ मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकमा कालोपत्रबाहेकको काम सकिएको छ”, म्यानेजर गौतमले भने, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्र्भट निर्माण भइसक्यो अहिले एक हजार ४०० मिटर दायाँबायाँ फुटपाथसँगै नाला निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।” ती काम सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रको काम शुरु गर्ने लक्ष्य रहे पनि अदालतमा परेको मुद्दाका कारण कालोपत्र गर्ने काम केही पछि धकेलिएको म्यानेजर गौतमले बताए ।

उक्त सडक निर्माणको ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत राजविराजमा फरकफरक व्यक्तिद्वारा तीन मुद्दा दायर गरिएको छ । दायर गरिएको तीन वटै मुद्दामा अदालतबाट अन्तिम फैसला नआएपछि विवादित स्थानलाई छाडेर अन्य भागमा कालोपत्रको काम शुरु गरिएको छ । रु ५८ करोड तीन लाख ९७ हजारमा उक्त सडक ठेक्का लागेको हो ।