गण्डकी प्रदेश

गाउँपालिकाको भवन निर्माणका लागि रु २४ लाख बराबरको जग्गा वडा कार्यालयलाई सहयोग

तनहुँको । तनहुँको  बन्दीपुर गाउँपालिका–१ को भवन निर्माणका लागि सोही वडा निवासी कृष्णराज अधिकारीले आठ आना जग्गा दान गरेका छन् ।

आफ्नै वडा कार्यालय भवन नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालयले नयाँ भवन निर्माण गर्न जग्गाको खोजी गरेपछि सोही वडाको नाहाला निवासी अधिकारीले करीब रु २४ लाख बराबरको जग्गा वडा कार्यालयलाई सहयोग गरेका हुँन।

उक्त जग्गाको लालपुर्जा अधिकारीले मालपोत कार्यालय तनहुँबाट वडा कार्यालयको नाममा पास गरी हस्तान्तरण गरेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए । वडा कार्यालयका लागि सोही ठाउँका केही व्यक्तिले समेत जग्गा दान दिने प्रतिबद्धता जनाइसकेका छन् । वडाध्यक्ष पोखरेलका अनुसार सुनिल अधिकारीले चार आना, कुलप्रसाद गुरुङले आठ आना दिने बताएका छन् । भने कफी सहकारी संस्थाले दुई रोपनी जग्गा दिने प्रतिबद्धता जनाएको छ । छिट्टै ती जग्गा पनि वडा कार्यालयको नाममा आउने पोखरेलले बताए।

उनले भने, “सबै दानवीरले जग्गा उपलब्ध गराएपछि वडा कार्यालयको नाममा चार रोपनी जग्गा प्राप्त हुनेछ ।” वडा कार्यालयले चैत महीनादेखि भवन निर्माण गर्ने लक्ष्य राखेको छ । भवन निर्माणका लागि जिल्ला समन्वय समिति तनहुँले रु ८० लाख गाउँपालिकालाई निकासा पठाइसकेको छ । वडाध्यक्ष पोखरेलका अनुसार गाउँपालिकाबाट रु २० लाख थप गरी एक करोड लागतमा भवन निर्माण हुनेछ ।

शहरी विकास मन्त्रालयले सबै वडा कार्यालय एउटै डिजाइनमा बनाउने निर्णय गरेकाले सोही निर्णयबमोजिम नै वडा कार्यालयको भवन निर्माण हुनेछ । वडा कार्यालय सञ्चालनका लागि हाल मासिक रु १० हजार खर्च हुने गरेको छ । नयाँ भवन निर्माणपछि मासिक भाडा बचत हुने पोखरेलले बताए ।
–––