प्रदेश 2

म विरूद्ध एकपछि अर्को गर्दै षढ्यन्त्र भईरहेको छ, यसमा कुनै आश्चर्य छैन – नेता महतो

 धनुषा  । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छिट्टै पार्टी महाधिवेशन गराउने पक्षमा आफू रहेकाले महाधिवेशन नचाहनेले आफु विरुद्ध षडयन्त्र गरी बदनाम गराउने प्रयास गरेको आरोप लगाएका छन् ।

उनका पूर्वस्वकीय सचिव रवीन्द्रकुमार चौधरी ‘राजेश’ ले तलब नदिएको बहानामा विभिन्न आरोप लगाएपछि महतोले त्यसको खण्डन गर्दै महाधिवेशन नचाहनेको षडयन्त्र भएको बताए । प्रेस मञ्च नेपालले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “म विरूद्ध भई रहेको षडयन्त्रलाई हेर्दा मलाई कुनै आश्चर्य लागेको छैन, अहिले म आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा तोकेकै समयमा पार्टीको महाधिवेशन गराउन लगाएको हुनाले अरू सानो तिनो कुरामा आरोप प्रत्यारोप लगाएकामा मेरो कुनै चासो छैन ।”

राजपामा बढ्दो सक्रियता र जनप्रभावले आत्तिएर पार्टीभित्र तथा बाहिरका केही शक्तिहरू आफू विरूद्ध लागेको बताउँदै महतोले महाधिवेशनसम्म यस्तो स–साना कुरामा आफू न अल्झिने प्रतिक्रिया दिए । महतोका स्वकीय सचिव भएर कार्य गर्नुभएका चौधरीले आफ्नो फेसबुकमार्फत तलब नदिएको, झूठो हस्ताक्षर गरेर तलबको रकम हिनामिना गरेको जस्ता आरोप लगाएका थिए ।