राजनीति

अधिकारीको निधनमा महासचिव मैनालीद्वारा दुःख व्यक्त

काठमाडौँ । नेकपा (माले) ले पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव सिपी मैनालीले जारी गरेको विज्ञप्तिमा नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेता अधिकारीको निधनले देशले एक निष्ठावान, सम्मानित र लोकतान्त्रिक नेता गुमाएको तथा राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अधिकारीप्रति भावपूर्ण श्रद्घाञ्जलि व्यक्त गर्दै उहाँको शोकसन्तप्त परिवारजन एवं नेकपा पार्टी पङ्क्तिप्रति समवेदना व्यक्त गरिएको छ ।

पहिलो कम्युनिष्ट पार्टीको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका अधिकारी विभिन्न पटक मन्त्री एवं उपप्रधानमन्त्री भई ‘आफ्नो गाउँ आफैं बनाउँ’, वृद्धभत्तालगायतका कार्यक्रममार्फत् लोकप्रिय बन्नुभएका उनले लामो समय तत्कालीन नेकपा (माले) र (माक्र्सवादी) को एकीकरणपछि बनेको नेकपा (एमाले) को पोलिटब्युरो तथा स्थायी कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए ।

राजनीतिक परिवर्तनको निम्ति चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष जेल जीवन बिताउनुभएका स्व अधिकारी निष्ठावान नेताका रुपमा रहनुभएको मालेले जनाइएको छ । विसं १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरमा जन्मिनु भएका अधिकारीको उपचारको क्रममा ह्याम्स अस्पतालमा यही फागुन १८ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।