कृषि

कृषि व्यवसायतर्फ युवा आकर्षित

डोटी । बिनाब्याजमा रकम पाउन थालेपछि डोटीका युवा कृषि व्यवसायतर्फ आकर्षित भएका छन् । सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रकम पाउन थालेपछि उनीहरु कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।

जिल्लाको शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामूहिक बाख्रापालन व्यवसाय शुरु गरेको छ । डोटी बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेर अनेरास्ववियुका जिल्ला अध्यक्षसमेत रहनुभएका उहाँले आयआर्जन गर्न उक्त व्यवसाय रोजेको बताउनुभयो ।

सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रु पाँच लाख ऋण लिएर आफूले बाख्रापालन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बिनाब्याज रकम दिँदैछ, काम गर्नेहरुका लागि यो राम्रो अवसर हो ।” उहाँले युवा समितिमार्फत काफली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र प्रगतिशील कृषक समूहबीच सहकार्य गरेर व्यवसाय शुरु गर्नुभएको छ । जमुनापारि क्रस र खरी जातका बाख्रापालन गरिरहेका प्रगतिशील कृषक समूहका उपाध्यक्षसमेत रहनुभएका बोहरा बाख्रापालन व्यवसाय शुरु गर्न पाएकामा खुशी हुनुहुन्छ ।

त्यस्तै सोही कृषक समूहका दलबहादुर बोहराले पनि बाख्रापालन गरिरहनुभएको छ । युवा समितिले युवा उद्यम कार्यक्रमअन्तर्गत गत वर्ष जिल्लाका दुई उद्यम समूहलाई आर्थिक सहयोग गरेको समितिका कम्प्युटर अपरेटर गणेश मल्लले जानकारी दिनुभयो । समितिले बाख्रापालन मात्र नभएर आधुनिक सीप विकास मञ्च लामिखालमा खुकुरी, चक्कु, चुलेसी निर्माण व्यवसायका लागि पाँच÷पाँच लाख रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै जोरायल गाउँपालिका–५ का स्थानीयवासी लीलाधर विष्टले पनि तत्कालीन जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा गाउँमा रेन्बो ट्राउट माछापालन गर्नुभएको छ । माछापालन व्यवसाय शुरुमा केही खर्चिलो भए पनि अहिले राम्रै आम्दानी हुन थालेको उहाँले बताउनुभयो । विष्टले भन्नुभयो, “शुरुमा हामीलाई माछा हुर्काउनमा निकै समस्या भयो, अहिले त राम्रै आम्दानी हुन थालेको छ ।” आफ्नै वडाका तीन जना युवा मिलेर उहाँहरुले रेन्बो ट्राउट माछापालन गरेका छन् । उक्त माछाको बजार मूल्य अहिले करीब रु एक हजार ६०० देखि रु एक हजार ७०० सम्म पर्ने गरेको कृषक लीलाधर विष्टले बताउनुभयो ।

सरकारले बिनाब्याज ऋण रकम दिन थालेपछि यहाँका अधिकांश बेरोजगार युवा कृषि कर्म गर्नका लागि प्रस्तावना पत्र बनाएर सम्बन्धीत निकायमा पेश गर्न थालेका छन् । युवा समितिले लगानी गरेका उद्यम समूहले सन्तोषजनक काम गरेको र जिल्लामा बेरोजगार एवं अनुत्पादक भएर बसेका युवाले पनि आयआर्जनमूलक व्यवसाय गर्न थालिएको युवा उद्यम कार्यक्रम समितिका अध्यक्ष बमबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “जागिर पाएन भनेर हल्लिनुभन्दा बिना ब्याजको पैसा लिनोस्, काम गर्नुस्, पैसा घरैमा छ ।”