शिक्षा

भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकैसाथ

काठमाडौँ । सरकारले विद्यालय भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकै साथ वैशाखदेखि सञ्चालन गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टाछुट्टै रुपमा सञ्चालन गरेतापनि यस वर्षदेखि सबै बालबालिकालाई विद्यालयमा ल्याउन र साक्षरता मुलुक घोषणा गर्ने सरकारको प्रतिबद्धतालाई पूरा गर्नका लागि दुई अभियानसँगै हरित विद्यालय अभियानलाई समेतसँगै लैजान लागेको हो ।

विद्यालय भर्ना शतप्रतिशत पु¥याउने, निरक्षर उन्मुलन गर्ने र विद्यालयलाई हरियाली बनाउनका लागि तीन अभियानलाई सँगै लैजान लागिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए । विद्यालय भर्ना र साक्षरता पहिल्यैदेखि सञ्चालन हुँदै आएका हुन् । हरित विद्यालय अभियान आउँदो नयाँ वर्षदेखि सरकारले सबै विद्यालयमा बगैँचा र हरियाली बनाउने उद्देश्यले सञ्चालन गर्न लागेको हो ।

सबै कार्यक्रम वैशाखदेखि सञ्चालन गर्न केन्द्र आवश्यक तयारीमा जुटेको छ । अहिले १५ वर्षभन्दा माथिका करीब एक लाख दुई हजार १०१ जना निरक्षर रहेको तथ्याङ्क छ । करीब ९५ प्रतिशत साक्षर भएपछि साक्षरता घोषणा गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ । ‘‘आउने वैशाखदेखि सञ्चालन हुने अभियानले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा पु¥याउने छौ’’ केन्द्रका महानिर्देशक पौडेलले भन्नुभयो,‘‘साक्षरता अभियानबाट सबै निरक्षरलाई पढ्नसक्ने बनाउने छौ ।’’

एकीकृत रुपमा अभियान सञ्चालन भएपछि एकले अर्कोलाई सहयोग पुग्ने बताइएको छ । उनका अनुसार अझै विद्यालय जाने उमेरका करीब २।७ प्रतिशत विद्यार्थी विद्यालय बाहिरनै छन् । केन्द्रका अनुसार अहिले ६० हजार उमेरका विद्यार्थी विद्यालय बाहिर छन् तीमध्ये प्रदेश नंं २ मा २६ हजार छन् । केन्द्रका निर्देशक पौडेलले प्रदेश र स्थानीय तहलाई विद्यालय भर्ना र साक्षरता अभियानमा सहभागी गराइने बताए । ‘‘केन्द्रले निरक्षर र विद्यालय भन्दा बाहिर रहेको सङ्ख्या एकीन गरी अभियान सञ्चालनका लागि स्थानीय तहमा पठाएको छ’’ उनले भने ,‘‘तथ्याङ्कको आधारमा एकीकृत रुपमा साक्षरता र भर्ना अभियानलाई सँगैसँगै लैजान सबै स्थानीय तहलाई निर्देशन दिने तयारीमा छौ ।’’

मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले उमेर पुगेर विद्यालय जान नपाएका बालबालिकालाई शतप्रतिशत विद्यालयमा भर्ना गर्ने गरी अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओली मुगु पुगी विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा भर्ना गराएर अभियान सञ्चालन गरेका थिए । प्रवक्ता अर्यालका अनुसार गतवर्ष तीन लाख १३ हजारमध्ये दुई लाख ५४ हजार विद्यार्थी भर्ना भएका थिए ।

विशेष गरी पिछडिएका, शिक्षा र चेतनाबाट वञ्चित तथा मजदूर वर्गका बालबालिका विद्यालय भन्दा बाहिर रहेका छन् । ‘‘यसवर्ष कोही पनि विद्यालय भन्दा बाहिर रहन नपरोस् र सबै निरक्षरबाट साक्षरता बनाउने उद्देश्यले अभियान सञ्चालन गर्दैछौ’’ उनले भने,‘‘दुबैमा हामी शतप्रतिशत नजिता हासिल गर्नेछौ ।’’ विसं २०६९ मा सरकारले साक्षरता अभियान सञ्चालन गरेको थियो । सरकारले आगामी दुई वर्षभित्र नेपाल साक्षरता घोषणा गर्ने नीति लिएको छ । अहिलेसम्म ४८ जिल्ला साक्षर घोषणा भइसकेका छन् ।