सुदूरपश्चिम

शिवालयमा भक्तजनको भीड

बैतडी । महाशिवरात्रिको अवसरमा जिल्लाका एक दर्जनभन्दा बढी शिवमन्दिर तथा शिवालयमा भक्तजनको घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध पातालभूमेश्वर धाम, ईश्वरी गङ्गाधाम, सिगास धुराधाम, त्रिवेणीधाम, स्वर्गेनी पीपलधाम, देवलहाट र बैतडी तथा दार्चुलाको सिमानामा रहेको गोकुलेश्वर महादेवको दर्शनका लागि भक्तजनको घुइँचो लागेको हो ।

यसैगरी खोड्पे, सनशेरीमाडौँ, शङ्करपुरलगायत शिवमन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ईश्वरी गङ्गा धाममा रुद्राभिषेकसहित मेला लागेको स्थानीयवासी कर्णबहादुर चन्दले जानकारी दिए ।

मेलाभार शिवालय क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ । यसैबीच मेलामा हुनसक्ने आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

शिव उत्पत्ति भएको रातको सम्झनामा नामकरण गरिएको महाशिवरात्रिका अवसरमा हिन्दू धर्मावलम्बीले प्रत्येक वर्षको फागुनकृष्ण चर्तुदशीका दिन यो पर्व मनाउने चलन चलेको हो । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रिलाई धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।