गण्डकी प्रदेश

पर्वतको गुप्तेश्वर र अलपेश्वरमा विशेष मेला

पर्वत । हिन्दूको महान् पर्व महाशिवरात्रिका अवसरमा पर्वतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा र अलपेश्वर गुफामा विशेष मेला लागेको छ भने अन्य शिवालयमा बिहानदेखि भक्तजनको घुइँचो लागेको हो । गुप्तेश्वर र अलपेश्वर गुफाको दर्शन र गुफाभित्र रहेको शिवलिङ्गको पूजा गर्न बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

गुफामा दर्शन र पूजा गर्न पर्वतका गाउँगाउँबाट सर्वसाधरण आएका छन् भने छिमेकी बागलुङ, कास्की र म्याग्दीबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आएका छन् । गुफामा दर्शन गर्ने र भजनमा नाचगान गर्ने पनि प्रशस्त छन् । गुप्तेश्वर गुफामा पार्वतीले महादेवलाई पतिका रूपमा पाउँ भनी व्रत बसेको र भगवान् शिव गुप्त रहेको धार्मिक विश्वास रहिआएको छ । पार्वती पर्वतकै पाङ्गमा जन्मेकी र गुफामा व्रत बस्ने तथा कालीगण्डकीमा स्नान गर्ने गरेको भनाइ पाइन्छ । एक किलोमिटर लामो गुफामा देवीदेवताका दर्जनाँै आकृति रहेका छन् ।

यसैगरी कुस्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने पञ्चासे, डहरे, सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलालगायत शिवालय मन्दिरमा भक्तजनको बिहानदेखि मेला लागेको छ । पछिल्लो समय भेटिएका पाङको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफा, ठूलीपोखरीको बाटुलौर मन्दिर, पाङराङको शिवालय मन्दिर, खनियाघाटको सुदर्शन मन्दिरमा पनि मेला लागेको स्थानीयवासीले जानकारी दिएका छन् । त्यस्तै मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर र बागलुङको गौरीधाम मन्दिर र ग्रामीण क्षेत्रमा रहेका शिवमन्दिरहरुमा पनि बिहानदेखि भक्तजनको घुइँचो लागेको बताइएको छ ।