गण्डकी प्रदेश

बागलुङमा जग्गा खरीद–बिक्रीको कारोवारमा कमी

बलेवा, । सङ्घीयता कार्यान्वयनमा आएसँगै बागलुङमा जग्गा खरीद–बिक्रीको कारोवारमा कमी आएको छ । बितेका वर्षमा भन्दा यो आर्थिक वर्षको पहिलो छ महीनामा जग्गा खरीद–बिक्रीको कारोवार कम भएको पाइएको हो ।

मालपोत कार्यालय बागलुङका अनुसार गत वर्ष फागुनको दोस्रो सातासम्म एक हजार ६२१ जग्गाका कारोवार कार्यालयमा दर्ता भएका थिए । यो वर्ष सोही समयावधिमा ९४७ मात्रै कारोवार भएको कार्यालयले जनाएको छ । “जग्गाको कारोवार हुँदा खरीद–बिक्रीको विषयमा जानकारी गराउन र नामसारीका लागि सेवाग्राही कार्यालयमा आउँथे,” मालपोत अधिकृत विष्णुप्रसाद शर्माले भने, “यो वर्ष निकै कम रजिष्ट्रेशन भएका छन्, जसको अर्थ कारोवार घटेको भन्न सकिन्छ ।”

बागलुङमा बजार विस्तार भइरहेका सुगम ठाउँमा जग्गा खरीद गर्ने र दुर्गम गाउँका पाखा बिक्री हुने गरेका थिए । “सङ्घीयता कार्यान्वयनसँगै गाउँ–गाउँमा पुगेका सेवासुविधाका कारण सुगम भनिएका ठाउँको जग्गाको माग कम भएकाले कारोवार घटेको हुनसक्छ”, शर्माले भने, “पछिल्लो समय कार्यालयमा आउने सेवाग्राही अरूको भन्दा जग्गा कारोवार नै कम हुने गरेका छन् ।”

पहाडी जिल्ला भएकाले बागलुङ समथर जमीनको खोजीमा मधेशतिर बसाइँ सर्नेको क्रम बढेकाले पनि जग्गाको कारोवारमा कमी आएको हो । “यस वर्ष मात्रै झण्डै २५ घरपरिवार हाम्रो वडाबाट बसाइँ सरेर गए,” बागलुङ नगरपालिका–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, “यहाँको जग्गा बिक्री भएको छैन, मधेशको जग्गा खरीद–बिक्रीको हामीकहाँ जानकारी हुने कुरा भएन, त्यसैले जग्गाको कारोवार कम देखिएको हो ।” वैदेशिक रोजगारीमा जाने युवाले मधेशको जग्गामा लगानी बढी गरेका कारण जिल्लामा जग्गाको कारोवारमा कमी आएको गौतमको भनाइ थियो ।

मधेशमा घेडेरी किनेर घर बनाउनेले पहाडको जग्गा बिक्री गर्न नचाहने र आफ्नो जन्मथलोको जग्गा जोगाई राख्ने गरेका कारण पनि कारोवारमा कमी आएको हुनसक्ने गौतमले औँल्याए । बसाइँसराइ गरेर जानेहरुले वडास्तरबाट सिफारिस पाउने भएकाले जिल्लामा के कति बसाइँ सरेर गए वा अन्य ठाउँका जग्गामा लगानी भइरहेको छ भन्ने विषयमा तथ्याङ्क पाउन कठिन छ । नेपाल सरकारले एउटै जग्गाको कित्ताका वर्षमा एक पटकभन्दा धेरै गर्न नपाउने व्यवस्था गरेका कारणले पनि जग्गाको कारोवारमा कमी आएको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयमा जग्गाको कारोवारमा कमी आएसँगै कामको चापसमेत कम भएको कार्यालयले जनाएको छ ।

जग्गाको कारोवारका काम कम आउन थालेको मालपोत कार्यालयमा धितो तथा रोक्काका काम भने बढ्दै गएका छन् । जिल्लाका विभिन्न ठाउँमा स्थापना भइरहेका बैंक तथा वित्तीय संस्थाका कारण धितो र रोक्काका काम धेरै हुने गरेका छन् । दैनिक १० देखि १५ वटासम्म धितो, रोक्का र फुकुवाका काम आउने गरेको कार्यालय प्रमुख शर्माले जानकारी दिए । तीस देखि ३५ जनासम्मले कार्यालयबाट दैनिक सेवा लिने गरेकामा धितो रोक्का र फुकुवाका कामको चाप बढिरहेको उनले बताए । सहकारी संस्था, बैंक तथा अन्य लघुवित्तीय कारोवार गर्ने संस्थाले कर्जा लगानी गर्दा यस्ता काम लिएर कार्यालय आउने गरेका छन् । अदालतले दिलाउने अंश, बैंक तथा वित्तीय संस्थाले गर्ने लिलामीका कामसमेत कार्यालयमा निकै कम मात्रामा आउने गरेका छन् ।