अन्तर्राष्ट्रिय

इस्टोनियामा आइतबार सम्पन्न आमनिर्वाचनमा उदारवादी विपक्षीको जित

टाल्लिन । बाल्टिक क्षेत्रबाट युरोपेली युनियनमा आबद्ध मुलुक इस्टोनियामा आइतबार सम्पन्न आमनिर्वाचनमा विपक्षी उदारवादी रिफर्म पार्टीले विजय हासिल गरेको छ । प्रधानमन्त्री जुरी रातासको सेन्टर पार्टीले भने चुनावमा पराजय व्यहोरेको छ ।

पूर्व युरोपेली सांसद काजा काल्लासको नेतृत्वमा रहेको रिफर्म पार्टीले २८ दशमलब ८ प्रतिशत मत प्राप्त गरेको थियो । प्रधानमन्त्री रातासको सेन्टर पार्टीले भने २३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

रातासको दलसँग गठबन्धन गरेका सोसल डेमोक्र्याट्स र अनुदारबादी इसामा पार्टीले क्रमशः ९ दशमलब ८ र ११ प्रतिशत ४ प्रतिशत मत प्राप्त गरेका थिए ।

एकसय एक सदस्यीय संसदमा यी दुई दलले रिफर्म पार्टीलाई समर्थन गर्ने सम्भावना छ । यदि दुबै दलले समर्थन गरेमा रिफर्म पार्टीको गठबन्धनको संसदमा ५६ स्थान हुनेछ । विगतमा झैं रिफर्म र सेन्टर पार्टीले विगतमा झैं मिलेर सरकार निर्माण गर्न पनि सक्नेछन् ।

विपक्षी नेता काल्लासले गठबन्धनका सबै विकल्पहरु खुला रहेको बताउँदै प्रधानमन्त्री रास्तासको दलसँग आफूहरुको मुख्यतः कर प्रणाली, नागरिकता र शिक्षाका विषयमा मतभिन्नता रहेको स्पष्ट गरे ।

प्रधानमन्त्री रास्तासले विपक्षी रिफर्म पार्टीसँग पनि गठबन्धन हुन सक्ने बताए ।

चुनावमा करिब ६३ प्रतिशत मतदान भएको थियो । सोभियत युनियनबाट अलग्गिएको इस्टोनियाले विगत तीन दशकमा एकल वा दुई दल मिलेर आलोपालो सरकार निर्माण गरेका छन् । दुबै पार्टीले युरोपेली युनियन र नेटोको सदस्यतालाई स्वीकार गरेका छन् । इस्टोनियामा ऋणसँग कूल गार्हस्थ्य उत्पादनको अनुपात युरोपेली क्षेत्रमै सबैभन्दा कम छ ।

सेन्टर पार्टीले निवृत्तिभरमा ८ दशमलब ४ प्रतिशत वृद्धि गर्ने घोषणा गर्नुका साथै सरकारको राजश्व वृद्धिका लागि आयकरलाई २० प्रतिशत र कर्पोरेट करलाई २१ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ । सेन्टर पार्टीलाई रुसी अल्पसंख्यकहरुले समर्थन जनाइआएका छन् । करिब १३ लाख जनसंख्या रहेको इस्टोनियामा रुसी अल्पसंख्यक करिब एक तिहाई छन् ।