समाचार

बालीघरे प्रथा हरायो

बेझाड । गाउँघरमा परम्परादेखि नै चल्दै आएको बालीघरे ‘कटुवाल’ प्रथा पछिल्लो समयमा हराउँदै गएको छ । गाउँमा हुने शुभकार्य, विभिन्न कार्यक्रम, भेला, बैठकसम्बन्धी सूचना प्रवाह गर्न एक जनालाई बालीघरेका रुपमा राखिन्थ्यो ।

यसरी बालीघरेका रुपमा बसेका व्यक्तिले गाउँघरका हरेक गतिविधि, बैठक, भेलालगायत विभिन्न सूचना सन्देश सबैका घर घरमा पुगेर खबर गर्नुपथ्र्यो । पछिल्लो समयमा भने यो प्रथा गाउँघरबाटै हटिसकेको छ । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने चन्द्रकला नेपालीले झण्डै चार दशक जतिको समय बालीघरेको काम गरेर बिताए । उनले गाउँ टोल र वन समूहका सूचना घरघरमा पु¥याएर घरपरिवार चलाएको अनुभव सुनाए।

करीब २०० घरधुरीको हाराहारीमा सूचना प्रवाह गरेर बालीघरेको काम गरेको नेपालीले भने, “गाउँमा विवाह, पूजाआजा, भोजभतेर, सामुदायिक वन, वडाका भेला, बैठक हुँदा सबैका घरघरमा पुगी खबर गरेर लामो समय बिताए, अहिले यो चलन गाउँघरबाटै हटिसक्यो ।”

यसरी खबर गरेबापत उनले केही अनाज, तरकारी, रकम पाउनुहुन्थ्यो र त्यसैबाट आफ्नो जनजीविका चलाउने गर्थ्य। आफ्नो जीवनको लामो समय बालीघरेका रुपमा काम गरेको नेपालीले भने “वडाभित्रका घरघरमा पुगेर सूचना प्रवाह गराएवापत एक घरधुरीबाट एक पाथी धान, चामल, तरकारी, गेडागुडी पाइन्थ्यो, सक्नेले केही बढी पनि दिने गर्थे ।”
विवाह, भोजभतेर, पूजाआजा शुभकार्य गर्ने घरपरिवारले तोकिएभन्दा बढी केही रकम दिने गरेको उनले बताए । लुगा, जुत्ता सिलाउन, खेतबारी खनजोत गर्नका लागि पनि घरघरमा एक जना बालीघरे राख्ने चलन थियो । गाउँका धनी व्यक्तिका सबैका घरघरमा तल्ला वर्गका व्यक्तिलाई बालीघरेका रुपमा राखिन्थ्यो ।

पहिले एक जोडी कपडा, जुत्ता सिलाएबापत एक माना चामल र वर्षभरिमा एक पाथी धान दिने चलन थियो । रामपुर नगरपालिका–५ सुन्दरटोलका टीकामाया दर्जीले लामो समयसम्म बालीघरेका रुपमा लुगा सिलाउने काम गरेको बताए । “लुगा सिलाएर सकिएपछि घरघरमा लुगा पुर्याइदिन्थे र ज्यालावापत चामल, धान ल्याएर जीविका चलाइन्थ्यो,” उनले भने । अहिले यसरी बालीघरे रुपमा लुगा, जुत्ता चप्पल सिलाउने कार्य पनि हटिसकेको छ ।

हिजोआज सूचना तथा सञ्चार प्रविधिको विकासले बालीघरे प्रथा हराउन थालेको हो । पछिल्लो समयमा सूचना सञ्चार प्रविधिको पहुँच, गाउँगाउँमा एफएम रेडियो स्थापना, मोबाइल, इन्टरनेटलगायत विभिन्न प्रविधिको विकासले पुरानो बालीघरे प्रथा हराएको रामपुरका समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताए।

हिजोआज गाउँका खबर, वडा, वन समूह, बाटो, खानेपानीलगायत विभिन्न सूचना स्थानीय एफएम रेडियोबाट बज्ने गरेका छन् । यसले पनि पुरानो बालीघरे प्रथाको काम गरिरहेको छ ।