अन्तर्राष्ट्रिय

अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु

अलाबामा । अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ ।

“पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताए। जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको बताए । सोमबार व्यापक खोज तथा उद्धारको कार्य गरिने उनले जानकारी दिए ।

जोन्सले आँधीबाट मानिसका घरहरुमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर धेरै मानिस घाइते भएको बताए । उनले तत्काल उद्धार गरिएका सयौं मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही व्यक्ति निकै गम्भीर अवस्थामा रहेको जानकारी दिए । राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।

आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका थिए ।