गण्डकी प्रदेश

गलेश्वरधाममा भक्तजनको भीड

गलेश्वर । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

सोमबार श्रवण नक्षत्रको स्वामी चन्द्रमा परेकोले यस पटकको शिवरात्रि निकै पुण्यदायक मानिएको छ । शिवको प्रिय सोमबारका दिनै यो पर्व पर्दा झनै राम्रो र शुभ भएको भनेर आइतबार रातिनै टाढाटाढाका भक्तजन गलेश्वरमा आएका थिए । बेलपत्र, समीपत्र, पञ्चामृत, गङ्गाजल, श्रीखण्डले पूजा गर्दा यो दिन निकै लाभ मिल्ने बताइएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

उनले बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । कालीगण्डकी नदी किनारमा विशाल नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ ।

मन्दिर परिसरका विभिन्न ठाउँबाट सिसी टिभीमार्फत निगरानी गर्नुका साथै सुरक्षाकर्मी र स्वयंसेवक परिचालनद्वारा शान्त वातावरणमा मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङ, पर्वत, बागलुङ, कास्की, चितवनलगायतका जिल्लाबाट गलेश्वरको दर्शनका लागि भक्तजन आएका छन् ।

गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँडेको अवस्थामा गला पतन भएकाले गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।