प्रदेश 2

जलेश्वरनाथ मन्दिरमा भक्तजनको भीड

गौशाला । महाशिवरात्रि पर्वको अवसरमा प्राचीन तथा पुरातात्विक महत्व राख्ने महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेवको मन्दिर र जिल्लाका सबै शिवालयमा आज भक्तजनको भीड लागेको छ ।

महोत्तरीको जलेश्वर राजा जनकको राजधानी जनकपुरको दक्षिणद्धारको रुपमा रहेको पुराणमा वर्णित छन् भने पदम पुराणका अनुसार जलेश्वरनाथ महादेव स्वयं रुद्रबाट स्थापना भएको हो ।

रुद्रायतन्त्र ग्रन्थमा त्रेता युगमा राजा जनकको राज्यको सिमानाको चारैतिर सीताको रक्षाकवचको रुपमा स्वयं महादेवले पहरेदारी दिने भएकाले जनकपुरको पूर्वोतर कुनामा कपिलेश्वरनाथ, उत्तरमा क्षिरेश्वरनाथ, दक्षिणपूर्वमा कल्याणेश्वर र पश्चिम दक्षिण कुनामा जलेश्वरनाथ महादेव प्रतिष्ठित भएकाले यो महादेवको दर्शन गर्नाले चार देवस्थलको पुण्य मिल्ने विश्वास रहेकाले पनि यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

यहाँको शिवलिङ्ग बाहै्रकाल जलाशयमा रहने हुँदा जलेश्वर नाथ नामकरण भएको किम्वदन्ती रहेको छ । जलेश्वरनाथमा लागेको महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउनका लागि जलेश्वरनाथ महादेव संरक्षण समितिद्वारा निःशुल्क स्वास्थ्य शिविर, आवास, खानेपानीको व्यवस्था गरिएको छ भने शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

पौराणिक मतअनुसार मिथिला नरेश जनकले स्थापना गरेको यस शिवालयको दर्शनमात्रले सम्पूर्ण पापकट्टि भई पुण्य कमाइने जनविश्वासका कारण भक्तजनको भीड लाग्ने गरेको हो ।

शिवरात्रिको अवसरमा भक्तजनको चापलाई दृष्टिगत गरी सबैले सुविधापूर्वक दर्शन गरुन् भन्ने मनशायले यो पटक पर्याप्त व्यवस्था मिलाइएको शिव पूजा समारोह समितिका अध्यक्ष देवेन्द्र साहले बताए ।

महाशिवरात्रिको अवसरमा यहाँ धेरै भत्तजन निराहार व्रत बस्ने तथा अधिकांशले दर्शनपश्चात् मात्र अन्न जल ग्रहण गर्ने परम्परा रहेको छ । शिवरात्रिका दिन मधेशका कृषकले राम्रो कृषि उत्पादन तथा सहकालको कामना गर्दै धानका वाला तथा सु–स्वास्थ्यका लागि भगवान् आसुतोषलाई भण्टाको भार चढाउने परम्परा पनि रहेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।

शिवरात्रिको पुण्य दिन आज जलेश्वर नाथ मन्दिर परिसरमा बालकको मुण्डन गर्ने प्रचलनसमेत रहेको छ । यस्तै गरी उत्तरवर्ती टुटेश्वरनाथ महादेव तथा सुन्दरपुर गाविसस्थित मङ्गलनाथ महादेव मन्दिरमा समेत भक्तजनको भीड तथा पूजा कीर्तनले वातावरण भक्तिमय पारेको छ ।

मङ्गलनाथमा आजदेखि तीन दिनसम्म धार्मिक मेला लाग्ने गर्दछ । जिल्लामै सबैभन्दा बढी धार्मिक क्रियाकलाप, धर्म उत्सव एवं रमाइलो मेलाका कारण मङ्गलनाथ महादेव मन्दिर शिवरात्रिको अवसरमा आर्कषणको केन्द्र बन्ने गरेको छ ।